नेभिगेशन
व्यक्ति/व्यक्तित्व

ओजपूर्ण व्यक्तित्वका धनी ओली

कृष्ण तिवारी मध्यम कद हँसिलो अनुहार । नेपाली समुदायका प्रायःजसो कार्यक्रमहरुमा समयले भ्याएसम्म टुप्लुक्क देखापर्छन् उनी । अनि आफुले सकेको सहयोग गर्न पछि पर्दैनन् । नेपाली समुदायमा समाजसेवीका नामले चिनिएका पात्र हुन् उनी अर्थात भवानी ओली । ओली पेशाले ओली एण्ड एशोसियट्स शैक्षिक परामर्श केन्द्रका संचालक हुन् । तर्कसंगत कुरा गर्न मन पराउने ओली नेपाली समुदायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । समुदायप्रतिको लगाव र दृढ संकल्पकै कारण अस्ट्रेलियामा छरिएर रहेका नेपाली समुदाय तथा एनआरएन अस्ट्रेलियालाई उनले लगाएको गुन साँच्चै नै प्रशंसायोग्य छ । एनआरएन अस्ट्रेलियाको संस्थापक सदस्य रहेका ओली एनआरएनए स्थापनाका लागि चालिएका कदमका प्रत्येक पाइला–पाइलाका प्रत्यक्ष साक्षी पनि हुन् । तेह्रथुमको आठ्राई टुँडिखेलमा मध्यम वर्गीय किसान परिवारमा जन्मे हुर्केका ओली आठ जना छोराछोरी मध्ये माइलो छोरा हुन् । किसानमा आश्रित परिवार भएपनि शिक्षित परिवार भएका कारण ओलीले वाल्यकालमा अध्ययनको लागि राम्रै वातावरण पाए । प्रारम्भिक शिक्षा गाउँकै स्कुलबाट लिए अनि विस २०४१ सालमा आदर्श विद्या मन्दिर माविबाट प्रवेशिका परीक्षा उत्तिर्ण गरे । स्कुलमा उनी मेधावी छात्रमै गनिन्थ्ये । पढाईका अलवा गाईबस्तु चराउनु, खेतीपातीमा सघाँउनु उनको दैनिकी नै थियो । विद्यार्थी जीवनमा कहिलेकाही त दिनभरी हलो जोतेर घर फर्केका अनुभव उनको स्मृतिमा ताजै छन् । घरमा दाईले विज्ञान विषय अध्ययन गरेका कारण उनी पनि विज्ञान विषय लिएर महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसमा आइएस्सी भर्ना भए । वाल्यकालमा उनको चाहना वैज्ञानिक बन्ने थियो । पढाईमा मेधावी रहेका ओलीले विसं २०४३ तिर आइएस्सी सके । अनि उच्च शिक्षाको लागि सपनाहरु बुन्दै राजधानी काठमाडौं छिरे । पाटन संयुक्त क्याम्पसमा बिएस्सीमा भर्ना भए । बिएस्सी उत्र्तिणपछि उनी टियू किर्तिपुर क्याम्पसमा एमएस्सी अध्ययन थाले । एमएस्सी भर्ना भएपछि बिचैमा उनी एउटा टे«निङको लागि बेलायत पुगे । ट्रेनिङ सकेपछि नेपाल फर्केर आफ्नो एमएस्सीको अध्ययनलाई निरन्तरता दिए । विसं २०५० सालमा एमएस्सी सके । पढाई सकेपछि ओली जागिरको खोजीमा लागे । काठमाडौंका केही कलेजहरुमा पढाउन थाले । टिचिङ पेशा सँगसगै ओली व्यापार व्यवसाय गर्न तम्सिए । अनि विसं २०५२ सालमा उनले “अल्फाविटा ट्रेडिङ इन्टरन्यासनल” नामको कम्पनी खोले । उनको कम्पनीले त्यतिवेला कम्युटर, प्रिन्टर लगायतका सामाग्रीहरु अफिस–अफिसमा सप्लाई गर्ने काम गर्दथ्यो । नेपालमा भर्खरै कम्प्युटर प्रविधितिर जनमानसमा चासो बढेका वेला सुरु गरेको उनको व्यापारले राम्रो बजार लिदै थियो । तर एक दिन कामकै सिलसिलामा उनी बबरमहलको बाटो हिड्दै थिए । बाटोमा एउटा टुक्रो कागजमा उनको आँखा टुप्लुक्क पुग्यो । एकछिन टक्क अडिए अनि हातले टिपे । ओलीलाई के थाहा त्यही एक टुक्रो कागजले जीवन नै परिवर्तन गरिदिन्छ भनेर । ओलीको लागि भने यो नै भविष्य निर्धारण गरिदिने मार्ग निर्देश बनिदियो । 12376182_474181459450203_7255221242307926247_n अस्ट्रेलियाको यात्रा एक अस्ट्रेलियन कलेजमा अध्ययन गर्न लेखिएका केही सूचना थिए त्यस कागजमा । सोही कलेजमा ओलीले आफ्नो शैक्षिक प्रमाणपत्र लगायत अन्य आवश्यक सामाग्री पठाए । नभन्दै शैक्षिक प्रमाणपत्रमा उच्च अंक हासिल गरेका ओलीलाई ब्रिज बिजनेस कलेजले अध्ययनका लागि अफर गरेर अस्ट्रेलिया बोलायो । सन् १९९६ मा उनी करिब दुई वर्षे कम्युटर अध्ययनका लागि अस्ट्रेलिया आइपुगे । सुरुवातका दिन ओलीका लागि सर्घषमय नै रह्यो । संख्याका हिसावले सानो हिस्सा रहेको नेपाली समुदायमा त्यतिवेला काम पाउन कठिन नै थियो । तर दहे आत्मबल बनाएका ओलीमा बोली अलि कडा नै थियो । साथीहरुसँग आगमनको पहिलो दिनमा नै यहाँको बस्तुस्थिति र कामको वारेमा बुझे । अनि भोली पल्टै किचेनहेण्डको जागिर पाए । विद्यार्थी जीवनमा ओलीले सबै कामको अनुभव बटुले । त्यतिवेला उनका लागि अध्ययन र काम नै ठुलो कुरा थियो । त्यसपछि उनी Macquarie University मा Masters of Accounting and Finance विषय अध्ययन थाले । करिब दुई वर्ष त उनले सेक्युरेटीको काम समेत गरे । त्यतिवेला ओलीले अमेरिकी एम्बेस्सी, एनएसडब्लुका प्रिमियर बब कारको अफिसमा सेक्युरिटी काम गरे । जहिलेपनि कामलाई सम्मान गर्ने ओलीले मास्टर पढ्दै गर्दा एकाउन्टिङको काम पाएपछि सेक्युरिटीको काम छोडे । त्यसपछि भने ओलीको जीवनले केही कोल्टे फेर्यो । पछि उनले वीनयार्डको एक चार्टर एकाउन्टिङ फर्ममा सिनियर एकाउन्टेन्टको अभिभारा सम्हाले । एकाउन्टिङको कामबाट ओलीले धेरै अनुभव संगाले । अनि सोचे अरुको अफिसमा काम गर्नु भन्दा आफैले केही व्यवसाय गर्ने अनि आफै मालिक बन्ने । अनुभवले खारिएका ओलीले एजुकेसन कन्सल्टेन्सी खोल्ने विचार गरे । विद्यार्थी जीवनमा आफुले भोगेका कठिनाई अनि आर्जन गरेका शिक्षालाई सदुपयोग गर्ने हेतुले कन्सल्टेन्सीको नाम जुराए– ओली एण्ड एशोसियट्स । सन् २००२ मा टाउनहलबाट शुभारम्भ गरेको उनको कन्सल्टेन्सीले विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा, माइग्रेसन सेवा ट्याक्स एजेन्ट सेवा लगायतका सबै सेवाहरु दिन थाल्यो । त्यतिवेला सबै सेवाहरु एउटै थलोबाट शुरु गर्ने सायद यो नै नेपालीको पहिलो कन्सल्टेन्सी थियो । केही महिनापछि नेपालमा समेत आफ्नो अफिस विस्तार गरे । अस्ट्रेलिया अध्ययनका लागि आउने नेपालीहरुको संख्यामा विस्तारै वृद्धि हुदै गयो । गुणस्तरिय सेवाका कारण ओली एण्ड एशोसियट्सले नेपाली विद्यार्थीहरु माझ राम्रो छवी बनाउन सफल छ । भनिन्छ, अकबरी सुनलाई कसी लगाउन पर्दैन । हो, आज कन्सल्टेन्सीको भिडमा ओली एण्ड एशोसियट्स एउटा अकबरी सुन जस्तै अब्बल छ । समयको उतारचढाबसँगै कोही माथि पुगे होलान् तर ओलीले आफ्नो गुणस्तरिय सेवामा कहिल्यै कसैसँग सम्झौता गरेका छैनन् । उनी भन्छन्– विद्यार्थीहरुको सन्तुष्टी नै हाम्रो प्रमुख लक्ष्य हो । पैसा मानिसलाई जति भएपनि पुग्दैन तर आफुले कमाएको साख केही तलमाथि भयो भने त्यो साख फर्काउन वर्षै लाग्न सक्छ । आफ्नो विश्वासनीय सेवाको साखलाई आजसम्म निरन्तरता दिदै आएका छन् ओलीले । त्यहि आफ्नो पुरानो साखलाई जोगाउदै ओली एण्ड एशोसियट्सले आफ्नो सेवाहरु सर्वसुलभ अनि सजिलो बनाउन विभिन्न ठाउँमा समेत शाखा विस्तार गरेको छ । काठमाडौं लगायत चितवन, पोखरा, बुटबलमा समेत आफ्ना शाखा विस्तारका कामहरु गरिसकेको छ भने केही समयमा नै इटहरी र विर्तामोडमा सेवाहरु शुभारम्भ गर्दैछ । त्यस्तै अस्ट्रेलियामा सिड्नी लगायत मेलवर्न, ब्रिसवेन, पर्थ र डार्विनबाट समेत शैक्षिक परामर्श सेवाहरु विस्तार भैसकेका छन् । समाजसेवा र जीवन नेपाली समुदायसँग नजिक रहेर दुखसुखका क्षणहरु साटासाट गर्न पाउँदा ओलीलाई आनन्द महसुस हुन्छ । समाजसेवा त जीवनको एउटा पाटो पनि हो । एनआएएन अस्ट्रेलिया स्थापनामा सहयात्री बनेर पाइला पाइलामा आफ्ना अनुभवहरु पस्कदै आएका उनी एनआरएन अस्ट्रेलियाका संस्थापक सदस्य हुन् । एनआरएन अन्र्तगत बनेका विभिन्न प्रोजेक्टहरुमा पदमा रहेर वा नरहेर आफ्नो ज्ञान सीप र अनुभवलाई विना स्वार्थ नेपाली समुदायमा पस्किसकेका ओली पदमा भन्दा पद बाहिरै बसेर काम गर्न रुचाउँछन् । चाहे नेपाली कम्युनिटी सेन्टर बनाउने कुरामा होस् वा सोसियल वेलफेयर खडा गर्ने कुरामा होस् । यस्ता योजनाहरु अगाडि सार्न अनि परियोजना तयार गर्न ओली सधै अग्रपंक्तिमा नै रहेर काम गरे । 969219_10151499427779475_269259929_n ओली प्रवासी नेपाली मञ्च, मानवअधिकार तथा लोकतान्त्रिक नेपाली मञ्च अस्ट्रेलियाको योजनाकार तथा सल्लाहकार पनि हुन् । साथै नेप्लीज रिक्रियसनल सेन्टरका । झापाली समाजमा इन्टरन्यासनल कोर्डिनेटर रहेर काम गरेका ओली एनआरएन आइसीसीमा ३ वटा कार्यकालमा बसेर एनआरएनए विधान मस्यौदा समितिमा रहेर आफ्नो अनुभव समुदायलाई पस्किसकेका छन् । एनआरएन आइसीसी युथ कोर्डिनेटरको जिम्मेवारी सम्हालीसकेका ओली साच्चै नै प्रतिभाशाली व्यक्तित्वमा गनिन्छन् । निश्चित उद्धेश्य, निश्चित योजना अनुसार अगाडि बढ्दै जाँदा आफ्ना अगाडि आएका चुनौति र सम्भावनालाई सामना गर्दै गन्तव्यमा पुग्नु जीवन हो । अनि अवसरलाई समयमा नै चिन्न सक्नु पनि । ओली आफ्नो सफलताको श्रेय जीवनसंगीनी, बुवाआमा, आफन्तजन र शुभचिन्तकहरुलाई दिन चाहन्छन् । जीवनमा सकेको सहयोग गर्न पाउँदा उनको मन निकै फुरुङ हुन्छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ओलीले नेपाली संघ, संस्थालाई ठुलो गुन लगाइसकेका छन् । कर्मभूमि अस्ट्रेलियालाई बनाए पनि जन्मभूमिको कर्तव्य उनी कहिल्यै विर्सन सक्दैैनन् । नेपालमा घरआँगन नेपाल भन्ने संस्था मार्फत अपाङ र आमाबुवा गुमाएका बालवालिकालाई सहयोग गर्दै आएका छन् । अनि त्यस्तै नारी निकुञ्ज मार्फत नेपालका असाह्य महिलाहरुलाई सहयोग गर्दै आएका छन् । सन् १९९७ मा काठमाडौंमा अन्जना पन्तसँग विवाहबन्धनमा बाँधिएका ओलीको यो मागी विवाह थियो । अन्जना पनि नारी निकुञ्जमा आबद्ध रहेर नेपाली समुदायमा छुट्टै पहिचान बनाइसकेकी छिन् । ओली परिवारमा छोरीहरु आस्था र कृर्ति अनि छोरा आकृत छन् । अस्ट्रेलियालाई कर्मथलो बनाउने सपना बोकी नेपालबाट अस्ट्रेलिया आउने विद्यार्थीहरुलाई वास्तविकता बुझेर मात्र आउन सुझाव दिन्छन् ओली । अस्ट्रेलिया अवसरै अवसरको देश हो । आफुले अध्ययन गर्ने विषय, लाग्ने शुल्क अनि अध्ययन पछिका अवसरका बारेमा पहिल्यै नै जानकारी लिएर आउनु श्रेयकर हुने ओलीको कथन छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्