नेभिगेशन
नेपाल समाचार

वन्दना राणालाई ‘उमन अफ डिस्टिङसन’ पुरस्कार

सिड्नी । महिला अधिकारका क्षेत्रमा २५ वर्षदेखि समर्पित वन्दना राणालाई संयुक्त राष्ट्रसंघले यस वर्षको ‘उमन अफ डिस्टिङसन’ पुरस्कार प्रदान गरेको छ । राष्ट्रसंघीय निकाय कमिटी अफ एनजीओ सिएसडब्लुले जनाएअनुसार उहाँका साथ एक अफ्रिकी अधिकारकर्मी पनि पुरस्कृत हुनुभएको छ। ‘अमिना महमद र वन्दना राणालाई २०१६ का लागि उमन अफ डिस्टिङसन पुरस्कार प्रदान गरिएको छ, उहाँहरुको सम्मान मार्च १३ र १५ मा सीएसडब्लु सम्मेलनका क्रममा न्युयोर्कमा हुनेछ’ ओएनजीओ सीएसडब्लुले भनेको छ । राणालाई पुरस्कृत गरिनुको विस्तृत जानकारी दिंदै प्रेस विज्ञप्तिमा ‘स्थानीय समुदायको स्तरदेखि राष्ट्रिय ,क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरसम्म महिला अधिकारको प्रवद्र्धनका लागि पैरवी गरेको’ उल्लेख गरिएको छ । साथी नामक गैरसरकारी संस्थाका संस्थापक कार्यकारी अध्यक्ष राणा महिला अधिकारका क्षेत्रमा, पैरवी, अनुसन्धान, समुदाय परिचालन र लैङ्गिक समानताका लागि पुरुष सहभागिताका क्षेत्रमा सक्रिय हुनुहुन्छ । बेइजिङ पुनरवलोकनका लागि राष्ट्रिय सञ्जाल तथा घरेलु हिंसाविरुद्धको राष्ट्रिय सञ्जालका संयोजक राणा राष्ट्रिय महिला आयोगका अध्यक्ष पनि हुनुहुन्थ्यो । आमसञ्चार माध्यमबाट पहिचान बनाउन प्रारम्भ गरेकी राणा शान्तिका लागि एसिया प्रशान्त क्षेत्रीय महिला सञ्जाल (अपवाप्स) र अन्तर्राष्ट्रिय महिला शान्तिनिर्माता सञ्जालका संस्थापक सदस्य पनि हुनुहुन्छ । राणा पुरस्कृत हुनुभएकोमा नेपाली अधिकारकर्मीहरुले सामाजिक सञ्जालमार्फत ठूलो प्रसन्नता र गौरव प्रकट गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्