नेभिगेशन
व्यक्ति/व्यक्तित्व

मेलवर्नका वरिष्ठ कृषि विज्ञ तथा प्राज्ञ डा. तिम्सिना

कृष्ण तिवारी साधरण पहिरन, अनि मिजासिलो वोली र व्यवहार । उमेरका हिसावले करिब तीन बीस काटेपनि शरिर निकै फूर्तिलो छ, उनको । जीवनमा आफुले आर्जन गरेका ज्ञान, सीप र अनुभवलाई साटासाट गर्न हरदम तम्तयार हुन्छन् । नेपाली समुदायमा समेत सक्रिय रहन रुचाउने उनी हुन् मेलवर्न निवासी डा. जगदीश तिम्सिना । पेशाले उनी वरिष्ठ कृषि विज्ञ हुन् । विगत १९ वर्षदेखि अस्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएका डा. तिम्सिनाले देशविदेशमा आफुले हासिल गरेका ज्ञान, अनुभव र सीपलाई नेपाल लगायत अस्ट्रेलिया, बंगलादेश, भारतमा समेत नजिकको साइनो बनाई निरन्तर रुपमा पस्किरहेका छन् । साथै उनी युनिभर्सिटी अफ मेलवर्नका मानार्थ प्राध्यापक पनि हुन् । मध्यम वर्गीय शिक्षित परिवारमा पाँचथरमा जन्मेका तिम्सिना करिब ४ वर्षको हुँदा नै झापातिर बसाई सरे । उनका बुवा गाउँमा कहलिएका ज्योतिषी पंण्डित थिए । तीन वर्षको हुँदा आमालाई गुमाउन पुगेका तिम्सिना बुवा र अन्य परिवारकै रेखदेखमा हुर्किए । उनले आफ्नो प्रारम्भिक शिक्षा झापाकैं विरेन्द्र मावि चन्द्रगढीबाट लिए । सानैदेखि अलि तिक्ष्ण स्वाभावका उनी पढ्नमा निकै ध्यान दिन्थे । कक्षा उनी कहिले प्रथम त कहिले द्वितीय हुन्थ्ये । पढाईका अलवा कविता, कथा र निबन्ध लेखनमा उनको औंधी रुचि थियो । उनले स्कुले जीवनमा कयौं पटक अतिरिक्त कृयाकलापमा पहिलो भएर पुरस्कार समेत जीत हात परे । विसं २०२९ सालमा उच्च दोस्रो डिभिजनमा एसएलसी उर्तिण गरे । तिम्सिनाले एसएलसीपछि नै एउटा कविता संग्रह पनि निकाले । जसको नाम थियो– “मैलें जन्माएका कविताहरु” । बाल्यकालमा उनको चाहना डाक्टर बन्ने थियो र परिवारको पनि । त्यसपछि उनी विज्ञान विषय अध्ययनका लागि अस्कल क्याम्पस पुगे अनि वायोलोजीमा भर्ना भए । आइएस्सी अध्ययन सकिनंै लाग्दा यता क्याम्पसमा विद्यार्थी आन्दोलन शुरु भयो । आन्दोलनले उनको पढाई केही विथोलिन पुग्यो । डाक्टरमा आउने छात्रवृत्ति कोटा आन्दोलनले एक वर्ष पछि धकेलिदियो । IMG_2489 त्यसपछि उनी सन् १९७६ मा यूएसएआईडिको छात्रवृत्तिमा नै बिएस्सी एजी (कृषि विषय) अध्ययनका लागि पन्तनगर विश्वविद्यालय नौनीताल (भारत)मा गए । त्यतिवेला नेपालमा कृषि विषयमा अध्ययन गरेकालाई काम पाउन र विदेशमा उच्च शिक्षाको लागि राम्रो मानिन्थ्यो । तिम्सिनाले सन् १९७९ मा पढाई सकेर नेपाल फर्के । अनि त्रिभुवन विश्वविद्यालय अन्र्तगत कृषि विषय अध्ययन हुने रामपुर क्याम्पस चितवनको शाखा क्याम्पस लमजुङ सुन्दरबजारमा लेक्चलरको जागिर खाए । यो नै उनको जीवनको पहिलो जागिर थियो । सुन्दरबजारमा करिब ७ महिना अध्यापन गरेपछि उनी केन्दिय क्याम्पस रामपुरमा पढाउन थाले । रामपुर क्याम्पसमा अध्यापन गराउदा गराउँदै उनी सन् १९८२ मा यूएसएआइडीको सहयोगमा एमएस्सी एजी अध्ययनको लागि फिलिपिन्स पुगे । करिब दुई वर्षको अध्ययन पश्चात उनी फिलिपिन्सबाट नेपाल फर्केर पुनः रामपुर क्याम्पस पढाउन थाले । फिलिपन्समा अध्ययन गर्दा राम्रो अंक हासिल गरेका कारण तिम्सिनालाई International Rice Research Institutes (IRRI) ले पिएचडीको छात्रवृत्तिमा फिलिपिन्स बोलायो । सन् १९८६ मा उनी पिएचडी अध्ययनका लागि फिलिपिन्स पुगे । सन् १९९१ मा पिएचडी सकेर पुन रामपुर क्याम्पस फर्किए । विसं २०४८ सालमा रामपुर क्याम्पसको सहायक डिन पनि बने । करिब १६ वर्षसम्म तिम्सिनाले रामपुर क्याम्पसमा निरन्तर अध्यापन गराए । आज उनले पढाएका विद्यार्थी देश विदेशमा छरिएर अनुभव र दक्षता विश्वभर फिजाएको सुन्न पाउँदा उनी गर्विलो महसुस गर्छन् । अस्ट्रेलियाको यात्रा रामपुर क्याम्पसमा अध्यापनमा रमाइरहेका तिम्सिनालाई अस्ट्रेलियास्थित University of Melbourne बाट जागिरको अफर गरेर अस्ट्रेलिया बोलायो । उनी केही दिन त दोधारमा परे । नेपालमै बसौ कि विदेशतिर जाऊ भनेर । जीवनका करिब १६ वर्ष अध्यापन पेशामा रमाएका तिम्सिनालाई अब विदेशमा गएर अझ बढी ज्ञान र अनुभव बटुल्ने चाहना बढ्यो । यस्तै सपनाहरु बुन्दै उनी सन् १९९७ मा मेलवर्न आए । अनि, सोही विश्वविद्यालयमा पढाउनुका साथै रिसर्चका कामहरु गर्न थाले । त्यतिवेला उनले अध्यापनमा भन्दा रिसर्चका प्रोजेक्टमा बढी समय खर्चिन थाले । तिम्सिनाले रिसर्चका लागि अस्ट्रेलियाली सहयोग प्रोजेक्ट Australian Centre for International Agricultural Research (ACIAR) मा काम गरे । जसले विश्वमा अविकसित राष्ट्र नेपाल लगायत करिब ३१ वटा राष्ट्रहरुमा विशेषत कृषि उत्पादन बढाउन कृषकहरुलाई तालिम तथा सहजीकरण गर्दै आएको छ । तिम्सिना सोही प्रोजेक्टमा कृषि विज्ञको रुपमा बंगलादेशका किसानहरुसँग झण्डैं ५ वर्ष काम गरेर बिताए । कृषि विज्ञको रुपमा ज्ञान हासिल गरेका तिम्सिना सन् २००२ देखि Commonwealth Scientific and Industrial Research Organisation (CSIRO) मा छिरे । त्यतिवेला उनी न्यु साउथ वेल्सको ग्रिफिथमा बसेर पञ्जाब कृषि विश्वविद्यालय लुधियानामा काम गर्न पुगे । तिम्सिना CSIRO मा कार्यरत रहँदा प्रोजेक्ट लिएर बंगलादेश र भारत गएका वेला उनी हरेक पटक नेपालमा पुग्थे । नेपाल पुगेका वेला रामपुर क्याम्पसमा एमएस्सी एजी र पिएचडी गरेका विद्यार्थी, तथा लेक्चरलहरुलाई विदेशमा आफूले सिकेका नयाँ सीप र अनुभवलाई साटासाट गर्थे । विशेषत उनले crop Modelling का विषयमा उनले विद्यार्थी र लेक्चरललाई तालिम दिए । त्यस्तै CSIRO मा कार्यरत रहँदा रामपुर क्याम्पसबाट दुई जना स्टाफलाई ग्रिफिथ झिकाएरै कृषि तालिम समेत दिन भ्याए । CSIRO मा करिब ५ वर्ष काम गरेका तिम्सिना ग्रिफिथको साइट बन्द भएपछि सन् २००७ मा IRRI मा काम गर्न फेरि फिलिपिन्स पुगे । फिलिपिन्समा करिब २ वर्ष काम गरे । IRRI ले पनि तिम्सिनालाई रिसर्चका लागि बंगलादेश नै पठायो । बरिष्ठ कृषि विज्ञ भएर तिम्सिनाले बंगलादेशमा करिब ३ वर्ष काम गरे । त्यविवेला भने उनी बंगलादेशमा नै बसेर कृषकहरुलाई अभिमुखीकरण गर्न विभिन्न ट्रेनिङ संचालन गरी कृषि उत्पादन बढाउने कार्यमा अग्रसर रहे । 11393044_10205902804063112_1840578476788804066_n त्यतिवेला तिम्सिनाको परिवारका अन्य सदस्यहरु भने अस्ट्रेलियामा नै थिए । उनी उता परिवार यता हुँदा जीवनमा केही असहजता महसुस भयो अनि सन् २०१२ मा तिम्सिना पुन अस्ट्रेलिया आउने निधो गरे । करिब डेढ वर्ष उनी रोयल गोर्खा इन्ट्रिच्युट अफ टेक्नोलोजी मेलवर्नमा काम गरे । सन् २०१३ देखि तिम्सिना सिड्नी स्थित हाम्रो कलेजमा Director of Studies & Compliance Manager को रुपमा कार्यरत छन् । यो उनको पार्ट टाइम जागिर हो । साथै तिम्सिनाले स्वतन्त्र कन्सल्टेन्टको रुपमा अष्ट्रेलिया, नेपाल, बंगलादेश, अफ्रिकाका मुलुकहरुमा कृषि अनुसन्धान र रिसर्चका कामहरु पनि गर्दै आएका छन् । कृषि अनुसन्धान कै शिलसिलामा ६ वटै महादेशका अधिकांस देशहरुको भ्रमण समेत गरिसकेका तिम्सिनाका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जर्नलमा करिब १ सय ५० भन्दा बढी अनुसन्धान मुलक आर्टिकल छापिएका छन् । उनका करिब ७ वटा आर्टिकलले विश्व कृषि अनुसन्धानमा निकै ख्याति कमाउन सफल पनि भएका छन् । उनले साउथ एसियाका कयौं कृषि अनुसन्धानकर्ता र किसानलाई तालिम दिएका छन् । उनको रिसर्चकै कारण किसानहरुलाई क्षमता अभिवृद्धि गरि धान, गहुँ र मकैं वालीमा उत्पादन वृद्धि भएका प्रशस्त उदाहरण छन् । तिम्सिनाले एशियाको ९ वटा देशका कृषकहरुमा आधारित रहेर “Rice Maize system In Asia ” नामक पुस्तक समेत प्रकाशन गरिसकेका छन् । जसमा उनले Crop Modelling बाट कसरी किसानले पानी, मल र गहुँका विकसित जातीबाट उत्पादन बढाउन सकिन्छ भन्ने कुरालाई प्रष्ट्याएका छन् । समाजसेवा र जीवन समयले भ्याएसम्म आफूले जानेका सीप र अनुभवलाई एकआपसमा साटासाट गर्न औधी मन पराउँछन् तिम्सिना । सन् १९९७ मा उनी नेप्लीज एशोसियसन अफ भिक्टोरियाको उपाध्यक्ष पनि बने । झापाली समाजको सल्लाहकार समेत रहेका तिम्सिनाले प्रवासलाई कर्मभूमि बनाए पनि तन र मन भने नेपालतिर घुमिरहेकैं हुन्छ । वर्षमा कम्तीमा पनि ३÷४ पटक त नेपाल पुगेकैं हुन्छन् उनी । एनआरएन अस्ट्रेलियाको अधिल्लो कार्यकालमा (२०१३–२०१५) सल्लाहकार समेत रहेका तिम्सिना Skill knowledge and Innovation ( SKI) का समेत सदस्य थिए । सोही स्की प्रोजेक्ट अन्र्तगत एनआरएनले नेपालको पूर्वी जिल्ला झापा र मोरङका करिब ३०० किसानहरुलाई लक्षित गरेर विशेषत धान, गहुँ, र मकैं वालीको उत्पादन बढाउन विभिन्न उपयोगी तालिम दिदै आएको छ । स्थानिय कृषकलाई तालिमका साथै कृषकको सहभागितामा अनुसन्धान र कृषि प्रचारप्रसारमा तिम्सिना लागि परेका छन् । उनी किसानहरुसँग आफ्ना अनुभव र सीप साटासाट गर्न पाउँदा खुसी हुन्छन् । कम मल, जल अनि विकसित विऊँबाट कसरी वालीनालीको उत्पादन बढाउन सकिन्छ भनेर किसानहरुसँग भलाकुसारीमा व्यस्त हुन्छन् । सन् २०१४ बाट उनले आफ्ना आमाबुवाको नाममा ५ लाख बराबरको “विद्यानाथ पवित्रादेवी” अक्षयकोष पनि खडा गरेका छन् । सो अक्षयकोषबाट तिम्सिना पढेको स्कूल चन्द्रगढीका कक्षा ११ र १२ मा अध्ययरत ४ जनालाई विद्यार्थीहरुलाई छात्रवृत्रि प्रदान गर्दै आएका छन् । त्यस्तै तिम्सिनाकी जीवनसंगीनी दिव्याले पनि आफ्ना बुवाको नाममा ५ लाख बराबरकैं “दिनानाथ अक्षयकोष” खोलेकी छिन् । धुलावारी हाईस्कुलमा करिब ३० वर्षसम्म हेडमास्टर रहेका दिनानाथ समाजसेवी समेत थिए । उनको सम्झनामा स्थापित सो अक्षयकोषबाट कक्षा ११ र १२ मा अध्ययनत तीन जना विद्याथी तथा एक उत्कृट शिक्षकलाई समेत अवार्ड प्रदान गरिदै आएको छ । डा. तिम्सनाको परिभाषामा जीवन प्रायः अनिश्चित छ । यात्रा कहाँ गएर टुगिन्छ थाहा नै हुदैन । जीवनमा सानो उपलब्धिमा पनि रमाउन जान्नुपर्छ अनि जिउन सिक्नुपर्छ । “जीवनमा व्यक्तिगत रुपमा उपलब्धि त सबैले गर्छन् तर आफ्नो समुदाय र समाजको लागि पनि केही न केही गरेर देखाउनु नै सार्थक जीवन हो ”– तिम्सिनाले भने । सन् १९८४ मा धुलावारी निवासी दिव्यासँग विवाहबन्धनमा बाँधिएका तिम्सिना परिवारमा एक छोरी पुस्तिका र छोरा अभ्यास छन् । पुस्तिका क्वीन्सल्याण्ड स्थित ग्ल्याडस्टोन भन्ने ठाउँमा माइनिङमा केमिकल इन्जिनियरिङको रुपमा कार्यरत छिन् भने अभ्यास आईटीमा मास्टर्स सकेर एक फूजी जीरक्क कम्पनीमा प्रोजेक्ट कोर्डिनेटरको रुपमा कार्यरत छन् । फुर्सतमा तिम्सिना घरपरिवार, साथीभाईसँगको भेटघाट र यात्रा गर्न औधी मन पराउँछन् । साथै उनी मिठो खानाका समेत सौखिन छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्