नेभिगेशन
अन्य

नेतृत्व हस्तान्तरण हुनुपर्नेमा देउवाको जोड

बुटवल। नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको अबको महाधिवेशनमा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस लामो समयसम्म परिवारबादबाट बाहिर निस्कन नसकेको भन्दै उनले अबको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरे । नेपाली काँग्रेस क्षेत्रीय समिति क्षेत्र नं ४ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यकता भेटघाट कार्यक्रममा बोल्दै नेता देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै भने – “अबको सभापतिमा मलाई विजयी गराउनुहोस् ।” वरिष्ठ नेता देउवाले आफू सभापति भए सबै नेताकार्यकर्तालाई सम्मानित हुने गरी स्थान दिनेसमेत बताए । गिरिजाबाबु र आफ्नो बलिदानबाट काँग्रेस मुलुककै सबैभन्दा ठूलो शक्ति बनेको दाबी गर्दै देउवाले अबको सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरे । उनले भने – “पार्टीलाई एकढिक्का बनाएर लैजान्छु, मैले कसैलाई काखा कसैलाई पाखा गर्दिनँ ।” कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यद्वय चन्द्र भण्डारी र बालकृष्ण खाँडले आगामी महाधिवेशनले पार्टीलाई एकजुट बनाउने बताएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्