नेभिगेशन
अन्य

मधेशी मोर्चाद्धारा कार्यदल भंग भएको घोषणा

काठमाडौ । एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीले मख्य तीन र मधेशी मोर्चाको कार्यदलले गरेको सहमति उल्टाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कार्यदल भंग भएको घोषणा गरेको छ । सोमबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै मोर्चाको कार्यदलमा सहभागी नेताहरुले अब शीर्ष तहमा मात्रै वार्ता हुने बताएका छन् । कार्यदल स्तरमा भएका समझदारीलाई प्रमुख दलको शीर्ष नेतृत्वले स्वीकार नगरेका कारण अब यसको औचित्य नभएको तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष तथा कार्यदल सदस्य हृदयश त्रिपाठीले बताए । सोमवार साँझ भएको बैठकमा कार्यदलका बीचमा भएको सहमति बारेमा प्रश्न गर्दै एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीले बैठकमा एमालेले मधेसमा दुई प्रदेश हुनेगरी अहिल्यै सीमांकन हुने प्रतिबद्धता दिन नसकिने, मंगलबार संसदबाट संविधान संशोधन विधेयक अहिलेकै अवस्थामा पारित गर्नुपर्ने अडान लिएका थिए । बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले मोर्चाको माग सहमति गर्नेभन्दा नगर्ने नियतले आउन खोजेको हो कि भनी सन्देह गरेपछि कांग्रेस नेताहरुले आशंका नगर्न सम्झाएका थिए । तर ओलीले अस्तिसम्म संविधानको अनुसूचीमा राख्नुपर्छ भन्ने केही कुरा थिएन, फेरि अचानक कहाँबाट आयो यो अनुसूचीको कुरो भन्दै संसदबाट संविधान संशोधन विधेयक अहिलेकै अवस्थामा पारित गर्नुपर्ने अडान लिएका थिए । प्रधानमन्त्री ओलीको अडानका कारण कार्यदल स्तरमा भएका कतिपय प्रगतिशील समझदारीलाई शीर्ष नेताहरुबाट स्वीकार नगर्ने काम भएको मधेशी मोर्चाका कार्यदलमा सहभागि नेताहरुको बुझाइ छ । तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष तथा कार्यदल सदस्य त्रिपाठीले पत्रकार सम्मेलनमा कार्यदलले जुटाएको सहमति शीर्ष तहमा अस्वीकार भएकाले अध्यक्ष तहमा मात्र छलफल हुने बताए । उनले भने– ‘अब दोश्रो ¥याङकमा छलफल हुँदैन, वार्ताहरु अध्यक्षस्तरमा मात्र हुन्छन् ।’ मधेस आन्दोलनको मागमा बुँदागत छलफल गर्न प्रमुख तीन दल र मधेसी मोर्चाले कार्यदल बनाएका थिए । कार्यदलमा प्रमुख तीन दलको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्य, एमालेका उपाध्यक्ष भीम रावल र एमाओवादी महासचिव कृष्णबहादुर महरा थिए । त्यस्तै मोर्चाले गठन गरेको कार्यदलमा तमलोपा उपाध्यक्ष त्रिपाठी, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव थिए । आन्दोलनरत दलहरुले राखेका ११ बुँदे मागमा कार्यदलमा बुँदागत रुपमा छलफल भएको थियो । तर आजको पत्रकार सम्मेलनमा त्रिपाठीले मोर्चाको मुख्य माग तराईमा दुई प्रदेश हुनुपर्ने रहेको भन्दै तीन दलले सो माग पूरा गर्न नचाहेको आरोप लगाए । शीर्ष तहमा वार्ता हुने बताएपनि त्यो कहिले हुने बारे त्रिपाठीले केही बताएनन् । मोर्चाका नेता महन्थ ठाकुर उपचारको क्रममा अहिले दिल्लीमा छन् भने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि बिराटनगरमा छन् । यसअघि प्रमुख तीन दलले राजनीतिक संयन्त्रमार्फत मधेसी मोर्चाको माग सम्बोधन गर्ने निर्णय गरेका थिए । राजनीतिक संयन्त्रमार्फत समस्या समाधान गर्न मोर्चा सकारात्मक भएपनि संयन्त्रको कार्यक्षेत्र र वैधानिकतामा मोर्चाले प्रश्न उठाएपछि तीन दलले संसदमार्फत संयन्त्रलाई बैधानिकता दिने निर्णय गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्