नेभिगेशन
अन्य

संविधान संशोधन विधेयकमाथिको दफावार छलफल ७ गतेसम्म स्थगित

काठमाडौं । तराई मधेशमा आन्दोलनरत मधेशी मोर्चासंग सहमति गर्ने भन्दै प्रमुख दलहरुको आग्रहमा नेपालको संविधान पहिलो संशोधन विधेयकमाथिको दफावार छलफल ७ गतेसम्मका लागि रोकिएको छ । प्रमुख तीन दलको सहमति अनुसार सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावमाथि सांसदहरुले दर्ता गरेको संशोधन प्रस्तावमाथि आजको संसद बैठकबाट दफावार छलफलको प्रक्रिया शुरु गर्ने तयारी रहेको थियो । तर आन्दोलनरत मधेसी मोर्चासँग सोमबार भएको कार्यदलको बैठकमा कुरा नमिलेपछि प्रमुख तीन दलका शीर्ष नेताहरुले सभामुख ओनसरी घर्तिमगरसँग विधेयकमाथिको दफावार छलफल ७ गतेसम्मका लागि रोक्न आग्रह गरेका थिए । प्रमुख तीन दल र सभामुखसँगको वार्तापछि सरकारका उपप्रधान एवम् रक्षा भीम रावलले विधेयकमाथि ७ गतेपछि छलफल प्रक्रिया अघि बढ्ने जानकारी दिए । नयाँ संविधानको धारा ४२ अन्तरगत सामाजिक न्यायको हक अर्न्तगत समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा प्रतिनिधित्वको व्यवस्था गर्न तथा धारा ८४ अर्न्तगत निर्वाचन क्षेत्र निर्धारणको विषयमा जनसंख्या र भूगोलका आधारमा गर्ने संशोधन प्रस्ताव सरकारले दर्ता गरेको थियो । उक्त विधेयकमा कांग्रेस, एमाओवादी लगायतका दलका सांसदहरुले २४ वटा संशोधन प्रस्तावको सूचना संसद सचिवालयमा दर्ता गरिसकेका छन् । मधेसी मोर्चासँग वार्ता र सम्बादद्धारा सहमति गरी संशोधनको विधेयकमाथि दफावार छलफल प्रक्रिया अघि बढाएर पारित गर्ने तयारी रहेपनि पछिल्लो समय वार्तामा व्यवधान उत्पन्न भएपछि प्रमुख तीन दलका शीर्ष नेताहरुले ७ गतेसम्म मोर्चासँग थप छलफल गरी सहमति गरी अघि बढाउने सहमति गरेका हुन् । ‘मधेस मुद्दा, सीमांकनलगायतका विषयमा तीन दलबीच छलफल भयो,’एमाले नेता भीम रावलले भने, ‘मधेसवादी दलका साथीहरूसँग ९ गतेसम्म छलफल गर्छौ त्यतीखेरसम्म पनि नभए हामी प्रक्रियामा जान्छौ ।’ दलहरुको आग्रह बमोजिम मंगलबारको संसद बैठक कार्यसूचिमा विधेयकमाथि दफावार छलफलको कार्यक्रम राखिएको भएपनि सभामुखले बैठकमा उक्त कायक्रम सूचिबाट हटाएकी छन् । संविधान संशोधन विधेयकमाथि दफावार छलफल गर्ने उद्देश्यका साथ संसद्को बैठक आज अपराह्न १ बजे बस्ने गरी बोलाइएपनि मुख्य दलहरुका बीचमा छलफल चलेकाले केहि ढिलो सुरु भएको थियो । संविधान संशोधनका विषयमा आन्दोलनरत मधेसकेन्द्रित दलसँग सहमति कायम गर्न यसअघिका संसद् बैठक पटक पटक स्थगन भएका थिए भने आजको बैठक निकै लामो समयपछि बस्न लागेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्