नेभिगेशन
अन्य

पुनर्निर्माण अझै तीन महिनापछि

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अझै साढे तीन महिनापछि भूकम्पपीडितका लागि घर बनाउन सुरु गर्ने निर्णय गरेको छ। भूकम्प गएको एक वर्ष पुग्दा वैशाख १२ देखि ुप्रत्येक जिल्लाका कम्तीमा पाँचवटा गाविस वा नगरपालिकामा व्यक्तिगत आवास निर्माणकार्य प्रारम्भ गरिसक्नेु घोषणा प्राधिकरणले गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको प्राधिकरण परामर्श समितिको पहिलो बैठकले आगामी वैशाख १२ सम्मको कार्ययोजना प्रस्तुत गर्दै पुनर्निर्माण थाल्ने घोषणा गरेको हो। वैशाख १२ मा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले करिब नौ हजारको ज्यान लिएको थियो भने करिब २२ हजार घाइते भएका थिए। करिब आठ लाख घर ध्वस्त बनाएको भूकम्पका कारण सात खर्ब रुपैयाँबराबरको क्षति भएको मूल्यांकन सरकारको छ।पुनर्निर्माणका लागि दाताको सर्तअनुसार दोलखाबाट थालिएको विस्तृत भवन तथा जनसांख्यिक सर्वेक्षणमा बुधबारसम्म करिब १३ हजार परिवारको विवरण संकलन गरिएको छ। दोलखामा सर्वेक्षणको नेतृत्व गरिरहेका तथ्यांक विभागका अधिकृत दीनानाथ लम्सालका अनुसार प्रत्येक दिन दुई हजार परिवारको सर्वेक्षण भइरहेको छ। नमुना सर्वेक्षणका लागि एक सय २७ वटा टोली परिचालन गरिएको छ। दोलखामा माघ मसान्तभित्र सर्वेक्षण सकिनेछ। ‘घर क्षतिको विवरण, आर्थिक(सामाजिक क्षतिको पक्ष, पारिवारिक र व्यक्तिगत विवरणलाई हामीले सर्वेक्षणमा समेटेका छौं’ लम्सालले भने। विस्तृत भवन तथा जनसांख्यिक सर्वेक्षण वैशाख १२ गतेसम्म भूकम्प प्रभावित जिल्लामा सक्ने लक्ष्य प्राधिकरणको छ। विश्व बैंक, एसियाली विकास बैंक, जापानी सहयोग नियोग जाइका लगायत दाताको लगानीमा सर्वेक्षण थालिएको हो। प्राधिकरणले चैत १२ गतेसम्म भूकम्प प्रभावित सबै जिल्लामा भवन तथा जनसांख्यिक सर्वेक्षण सुरु गरिसक्ने घोषणा गरेको छ । त्यतिबेलासम्म कम्तीमा पाँचवटा जिल्लामा नमुना आवास भवनको निर्माण सुरु गर्ने प्राधिकरणले जनाएको छ। सर्वेक्षणका लागि १० दिनभित्र पाँच सयजना र एक महिनाभित्र एक हजार पाँच सयजना इन्जिनियर गाउँमा पठाउने गृहकार्य भइरहेको छ।केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार रसुवा जाने टोलीको तालिम बिहीबार सकिनेछ भने तीन साताभित्र सर्वेक्षणमा जाने एक हजार पाँच सयजनाको तालिम पूरा हुनेछ। अन्नपुर्ण दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्