नेभिगेशन
अन्य

सरकारी सेवामा व्यापक घुसघोरी

काठमाडौं । सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवा लिन झन्डै एक तिहाइ सर्वसाधारणले घूस खुवाउनु पर्ने बाध्यता रहेको एक अध्ययनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार मालपोत कार्यालयदेखि, शिक्षा र अदालतसम्मै घूस दिनुपर्ने अवस्था छ । अध्ययन क्रममा १ हजार १ सय ५३ सेवाग्राहीमाझ गरिएको सर्वेक्षणमा ३ सय ५७ जनाले सरकारी निकायबाट सेवा लिँदा घूस खुवाउनु परेको बताएका छन् । यो ३१ प्रतिशत हो । ‘समयमा काम नगरिदिने, सेवाग्राहीले बाध्य भएर दलाललाई भेट्नु पर्ने र उनीहरुमार्फत अतिरित्त रकम खर्च गरेपछि मात्र काम सम्पन्न हुने अवस्था देखियो, अध्ययनमा संलग्न इन्जिनियर राघव विष्टले भने,‘अध्ययनका क्रममा छानिएका १४ निकायमा कुनै न कुनै ढंगले रकम बुझाउनु परेको भेटियो ।’ प्रतिवेदनअनुसार सेवाग्राहीले कार्यालयका स्रात व्यक्तिलाई सोझै नभेटी तेस्रो पक्षको सहयोगबाट सेवा लिने क्रममा घूस खुवाउनु पर्ने अवस्था धेरै भेटिएको छ । न्यायलयमा ४३, राजस्व तथा कर कार्यालयमा ३४ र यातायात व्यवस्था कार्यालयमा ३३ प्रतिशत सेवाग्राहीले दलाल मार्फत सेवा लिने गरेको प्रतिवेदनमा उल्लेख छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्