नेभिगेशन
अन्य

उपप्रधानमन्त्री थापा बेइजिङ प्रस्थान, खुला व्यापार र इन्धन आयात प्राथमिकतामा

काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा आफ्ना चिनियाँ समकक्षी बाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न चीनको छ दिवसीय औपचारिक भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान गरे । थाइल्याण्डको राजधानी बैँकक हुँदै चीनको राजधानीतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चीनसँगको पारस्परिक सम्बन्ध सुदृढीकरणका साथै खुला व्यापार एवम् इन्धन आयात गर्नेबारेमा प्राथमिकताका साथ चिनियाँ उच्च नेतृत्वसँग छलफल गर्ने बताए । आफ्नो चीन भ्रमण नियमित भएको स्पष्ट गर्दैै उहाँले नेपाल–चीन दौँत्य सम्बन्ध स्थापनाको ६०औँ वर्ष पूरा हुन लागेको र संविधानसभाबाट संविधान जारी भएसँगै नयाँ सरकार गठन भएको अवस्था हुन लागेको भ्रमण आपसी हित प्रवद्र्धनमा उपयोगी हुने बताए । “मित्रराष्ट्र चीन विश्वकै आर्थिक महाशक्तिका रुपमा स्थापित हुँदै आर्थिक विकास र समृद्धितर्फ केन्द्रित भएकाले नेपालले पनि नयाँ परिवेशमा व्यापार, लगानी, पर्यटनका क्षेत्रमा चीनसँग सम्बन्ध विस्तारको प्रयास गर्नेछ,” खुला व्यापार नीतिको अवधारणाअनुसार चीनसँगको सम्बन्धलाई अघि बढाउनमा आफू केन्द्रित रहने परराष्ट्रमन्त्री थापाले जानकारी दिए । चिनियाँ विदेशमन्त्री नेतृत्वको द्विपक्षीय वार्तामा नेपाल–चीन व्यापार वृद्धिका लागि पारवहनको उपयुक्त संयन्त्र निर्माण गर्ने, लामो समयदेखि चिनियाँ सहयोगमा नेपालमा जारी विकास–निर्माणका आयोजना तथा थप महत्वपूर्ण आयोजनाको खोजीको प्रयासका साथै व्यापार विविधीकरण गर्ने राष्ट्रिय नीतिअनुरुप चीनबाट इन्धन आपूर्तिका लागि यसअघि भएका प्रयासलाई निरन्तरता दिँदै त्यसलाई ठोसरुपमा कार्यान्वयनको पहल हुने जानकारी दिए । नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पु¥याउने आशा र विश्वासका साथ आफू भ्रमणमा निस्केको पनि उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्