नेभिगेशन
अन्य

लोकतान्त्रिक संविधान कार्यान्वयनमा राष्ट्रपतिको जोड

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक विधिबाट मुलुकको संविधान लेख्ने नेपाली जनताको चाहना पूरा भएको पृष्ठभूमिमा अब त्यसलाई कार्यान्वयनमा लाने मुख्य दायित्व राष्ट्रको भएको बताएकी छन् । आफूले अध्ययन गरेको भोजपुर बहुमुखी क्याम्पसको स्वर्णमहोत्सवको उद्घाटन गर्न आएकी राष्ट्रपति भण्डारीले अभाव र सङ्कटबाट पाठ सिकेर देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् । अधिकांश नेपाली गरिबी, अशिक्षा, रोग र भोकबाट पीडित रहेको बताउँदै उनले भनिन् “हामीले विगतको अनुभवबाट पाठ सिकेर अहिले भइरहेको क्षमतालाई मात्रै प्रदर्शन गर्नसके देश विकास गर्न कति पनि समय लाग्दैन ।” उनले लामो समयदेखि परनिर्भरताको चक्रमा फसेको नेपाललाई आत्मनिर्भर बनाउनु आजको आवश्यकता भएको बताइन् । कृषि, वन र पर्यटन क्षेत्रलाई विकास गर्न सकिए देश विकासले गति लिने राष्ट्रपति भण्डारीको भनाइ थियो । स्वर्णमहोत्सवको अवसरमा राष्ट्रपति भण्डारीलाई जिल्लावासीले सम्मानसमेत गरेका थिए । आजै राष्ट्रपति भण्डारीले मानेभञ्ज्याङ गाविसस्थित गुराँसेमा रहेको आफू जन्मेको घर पुगेर आफन्तसँग भेटघाटसमेत गरेकी थिइन् । उनले विनाशकारी भूकम्पबाट क्याम्पसलाई क्षति पुगेर उच्च शिक्षामा समेत प्रभाव पारेका बताइन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले अहिलेको संविधानले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र संस्थागत गरेको बताए । जनताका प्रतिनिधिमार्फत राम्रो संविधान निर्माण भएकामा सन्तोष व्यक्त गर्दै मन्त्री राईले अब नयाँ युगको सुरुवात भएको बताए । संविधानको रक्षा र सफल कार्यान्वयन सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै उहाँले तराई मधेसमा जारी समस्या वार्ताबाट समाधान हुने विश्वास व्यक्त गरे । सो अवसरमा मन्त्री राईले क्याम्पसमा इ–लाइब्रेरी स्थापना गर्नेसमेत घोषणा गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्