नेभिगेशन
अन्य

सरकारको तीनबुँदे प्रस्ताव मधेसी मोर्चाद्वारा अस्वीकार

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारको तीनबुँदे प्रस्ताव अस्वीकार गरेको छ । साथै उसले आन्दोलन नरोक्ने निर्णय गरेको छ । सरकारको तीनबुँदे प्रस्तावबारे धारणा तय गर्न संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बैठक बसेको थियो । बैठकले सरकारको प्रस्ताव अमूर्त र दृष्टिकोणविहीन भएको भन्दै स्वीकार नगर्ने निर्णय गरेको छ । बैठकपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने– ‘सरकारको प्रस्ताव अमूर्त र दृष्किोणहीन छ । र, उसले निकास दिँदैन । यो हामीलाई स्वीकार्य छैन ।’ सरकारले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक अघि बढाउने, राजनीतिक संयन्त्र बनाएर सीमांकनबारे तीन महिनाभित्र निर्णय गर्ने र नागरिकता लगायतका विषयमा वार्ताबाट सहमति गर्ने प्रस्ताव अघि सारेको छ । मधेस आन्दोलनलाई देखाएर नाकाबन्दी गरेको भारतले समेत तीनबुँदेको स्वागत गरेको छ । तर, मधेसी मोर्चाले भने सीमांकन परिर्वतन आफ्नो वटमलाइन भएको भन्दै सरकारको प्रस्ताव अस्वीकार गरेको छ । फोरम अध्यक्ष यादवले भने–‘सीमांकन बटमलाइन हो । यो नभएसम्म आन्दोलन रोकिँदन । फिर्ता हुँदैन ।’ संयन्त्र बनाएर सीमांकनबारे तीन महिनाभित्र टुंगो लगाउने प्रस्ताव मान्य नहुने भन्दै मोर्चाका नेता यादवले राजनीतिक संयन्त्र कि षड्यन्त्र भनेर प्रश्न गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्