नेभिगेशन
अन्य

तराई मधेशको समस्या समाधानका लागि वार्ताबाट समाधान : कांग्रेस

काठमाडौं । मुख्य बिपक्षी दल नेपाली कांग्रेसले तराई–मधेसमा चार महिनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत अन्य राजनीतिक दलसँग वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्ने निर्णय गरेको छ । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज बिहान बसेको पदाधिकारी बैठकले संसद्मा पेस भएको संविधान संशोधन विधेयकका आधारमा दलीय परामर्शलाई अघि बढाई सहमति खोज्ने निर्णय गरेको हो । बैठकले संविधान संशोधन विधेयकलाई प्रक्रियागत ढंगले अघि बढाउन सबै राजनीतिक दलसँग चरणबद्ध छलफल गर्ने निर्णय गरेको छ । त्यसै विषयमा थप तयारीका लागि कांग्रेसले आज अपराह्न पार्टी संसदीय दलको बैठक बोलाएको थियो । केन्द्रीय समितिको बैठक बस्नुअघि कांग्रेसले पार्टीको आगामी १३औँ महाधिवेशनको तयारीस्वरुप क्रियाशील सदस्यता वितरण प्रक्रियालाई कसरी व्यवस्थित र पारदर्शी बनाउने भन्नेबारे पदाधिकारीबीच छलफल गरेको हो । त्यस्तै, संसदमा प्रस्तुत संविधान संशोधन विधेयकलाई कसरी अघि बढाउने भन्नेबारे पनि छलफल भएको थियो । संसदमा प्रस्तुत संविधान संशोधन विधेयकमा आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याएर उसका मागलाई सम्बोधन गर्नेगरी अन्य दलसँग छलफल र संवादलाई तीव्रता दिइने पदाधिकारी बैठकले निर्णय गरेको छ । पछिल्लो समय वार्ताको गति अगाडि नबढिरहेका बेला मधेसी मोर्चालाई सहमतिमा ल्याउन व्यवस्थापिका–संसदको ठूलो दल नेपाली कांग्रेसले सहमतिमा ल्याउन चरणबद्ध वार्ता र संवाद गर्दै आएको छ । सभापति कोइरालाले मोर्चाका शीर्षस्थ नेतासँग औपचारिक र अनौपचारिक परामर्श गर्दै आउनुभएको छ । पार्टी पदाधिकारी र केन्द्रीय समितिमा पनि मोर्चाको मागका सम्बन्धमा छलफल चलाएर सहमतिको प्रयास जारी छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्