नेभिगेशन
अन्य

कांग्रेस, सरकार र मधेशी मोर्चा बीच त्रीपक्षीय वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेस क्षेत्रमा जारी आन्दोलनको समाधान खोज्न सत्तारूढ दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको त्रिपक्षीय वार्ता आह्वान गरेका छन्। मधेसमा जारी आन्दोलन सुल्झाउन सरकार गम्भीर नभएको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजेका लागि वार्ता बोलाएका हुन्। प्रधानमन्त्रीले वार्ताका लागि तोकेको समयमा भने आन्दोलनरत मोर्चाआबद्ध तीन दलका अध्यक्षले सुनसरीको देवानगन्जमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। तराई–मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर मात्र काठमाडौंमा छन्। ‘वार्तामा मोर्चाका घटक दलका सबै अध्यक्ष सहभागी हुन्छौं’ विराटनगरमा रहेका तराई–मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्रराय यादवले भने, ‘सुनसरीको सभालाई सम्बोधन गरेर काठमाडौं जान्छौं।’ मोर्चाले आइतबार विराटनगरको शक्ति प्रदर्शन गरेको थियो। मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो र तमसपाका अध्यक्ष यादवले विराटनगरको सभालाई सम्बोधन गरेका थिए। यसअघि मंसिर २ गते संविधानसभाका प्रमुख दल तथा मधेसी मोर्चाबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो। मधेसी मोर्चाले प्रदेश सीमांकनको विषयलाई आन्दोलनको बटमलाइन भएको बताएको छ। जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने, सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्नेसहितका ११ बुँदे माग प्रस्तुत गरेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्