नेभिगेशन
नेपाल समाचार

पक्राउ परेका १३ एसएसबीलाई ७ घण्टापछि छाडियो

काठमाडौं । हतियारसहित नेपाल छिरेका १३ जना सीमा सुरक्षा बल एसएसबीलाई ७ घण्टापछि छाडिएको छ । सशस्त्र प्रहरी बल केचनाको टोलीले आज बिहान हतियारसहित नेपाल छिरेका १३ जना एसएसबीलाई नियन्त्रणमा लिएको थियो । झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्मरु निरौलाले भारतीय काउन्टर पार्टसँगको लामो छलफलपछि उनीहरुलाई छाडिएको जनाए । उनीहरुलाई एसएसबीका कमान्डर डिबी नागीलाई जिम्मा लगाएर पठाएको निरौलाले जनाए । झापाको केचना नाकाबाट नेपाल छिरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का १३ जनालाई सशस्त्र प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ । तस्करलाई खेद्दै हतियारसहित नेपाल छिरेका उनीहरुलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । केचना नाकामा रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा उनीहरुलाई राखिएको छ । गृह मन्त्रालयको समन्वयमा उनीहरुलाई प्रक्रिया पुर्‍याएर भारतीय उच्च अधिकारीको जिम्मा लगाइने शसस्त्र स्रोतले जनाएको छ । झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले उनीहरु तस्करलाई लखेट्दै नेपाल छिरे पनि बाटो विराएका हुन् वा नियोजितरुपमा छिरेका हुन् अनुसन्धान भइरहेको बताए । तस्कर लखेटदै आएका सीमा सुरक्षा वलले केचना–४ का मोहम्मद आलममाथि कुटपिट गरेका थिए । तेल तस्कर भागेर आलमका घरमा लुकेपछि एसएसवीले आलमको घर समेत तलासी लिएको स्थानीय लाल मियाँले जनाएका छन् । आलमको घर सशस्त्र प्रहरीको सीमा सुरक्षा वलको कार्यालयदेखि ४० मिटर नजिक हो । आलमलाई एसएसवीले कुट्न थालेपछि स्थानीयले विरोध गरेका थिए । घटनालगत्तै पुगेको सशस्त्र फोर्सले १३ जनालाई नियन्त्रणमा लिएको हो । चार जनाले हतियार समेत वोकेका थिए । अहिले झापाका सहायक प्रजिअ डम्मरु निरौला, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सरक्षा निकायका अधिकारीसहित एसएसवीका अधिकारीहरुवीच छलफल भइरहेको छ । छलफलस्थलबाहिर स्थानीयबासीले भारतीय ज्यादती वढेको भन्दै नारावाजी गरिरहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्