नेभिगेशन
अन्य

एनआरएनले सरकारलाई दियो ३८ लाखको औषधि

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनले सरकारलाई मंगलबार ३८ लाख रुपैयाँबराबरको अत्यावश्यक औषधि हस्तान्तरण गरेको छ । तीन करोड रुपैयाँबराबरको औषधि सहयोग गर्ने पूर्वघोषित कार्यक्रमअनुरूप मंगलबार पहिलो लटमा ३८ लाखबराबरको औषधि वितरण गरेको हो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखामा आयोजित औषधि हस्तान्तरण कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसंख्यामन्त्री रामजनम चौधरीलाई औषधि हस्तान्तरण गरे । उनले भारत, चीन, बंगलादेशलगायतका देशबाट खरिद गरिएका औषधि ल्याउन कार्गोको समस्याका कारण केही ढिलाइ भएकोसमेत बताए । एनआरएनले दिएको औषधि तथा उपकरण अप्रेसनका वेला प्रयोग हुने, आइसियूमा रहेका बिरामीलाई दिइने खालका छन् । भूकम्पका वेला सबैभन्दा बढी औषधि सहयोग गरेको अमेरिकी गैरसरकारी संस्था डाइरेक्ट रिलिफले पहिलो लटको औषधि बिहीबारसम्म नेपाल आइपुग्ने जानकारी दिएको छ । यसअघि १५ दिनभित्र पठाउने प्रतिबद्धता जनाएको संस्थाले तत्कालका लागि औषधि आवश्यक भएको भन्दै छिटो पठाउन लागेको हो । आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा। भीम टिंकरीका अनुसार शनिबार इमेल गरी डाइरेक्ट रिलिफले मंगलबार नै पहिलो लटको औषधि अमेरिकाबाट डिस्प्याच हुने बताएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्