नेभिगेशन
अन्य

फिफाद्वारा गणेश थापालाई १० वर्ष प्रतिबन्ध, २१ लाख रुपैयाँ जरिवाना

काठमाडौं । भ्रष्टाचारको आरोपमा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबैखाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ भने उनीमाथि २० हजार स्वीस फ्र्यांक करिब २१ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय पनि गरेको छ । उनी राप्रपा नेपालका सिफारिसमा मन्त्रिपरिषद्बाट मनोनित सांसद हुन् । यो निर्णय तत्काल लागू हुने फिफाद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ । ‘उनीमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबलका सबैखाले गतिविधिमा प्रतिबन्ध लगाइएको छ’, विज्ञप्तीमा भनिएको छ । सन् २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कंग्रेसमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो । ह्यान्स जोचिमले नेतृत्व गरेको स्वतन्त्र नैतिक समितिले थापालाई प्रतिबन्ध गर्ने निर्णय गरेको हो । थापासहित लाओस् फुटबल फेडरेसनका अध्यक्ष भिफेट सिहाचरलाई समेत दुई वर्ष प्रतिबन्ध लगाइएको छ । डा. कर्णेल बोर्बेलीले नेतृत्व गरेको समितिले गरेको अनुसन्धानमा थापालाई दोषी देखाइएको हो । निर्वाचनको बेला व्यक्तिगत र पारिवारिक फाइदाको लागि अर्का फुटबल पदाधिकारीबाट पैसा लिनेलगायत वर्षौसम्म पदीय मर्यादाविपरीत विभिन्न गतिविधि गरेको आधारमा थापामाथि प्रतिबन्ध लगाइएको समितिद्वारा जारी विज्ञप्तीमा भनिएको छ । एफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट थापाका छोरा गौरव थापाको खातामा १ लाख डलर जम्मा भएको देखिएपछि फिफाले अनुसन्धान थालेको थियो । थापाले फिफा आचारसंहिताको धारा १३ सामान्य आचारसंहिता, धारा १५ पक्षधरता, धारा १८ गोपनीयता भंग, धारा १९ स्वार्थको द्वन्द्व, धारा २० उपहार र अन्य फाइदा लिएको र धारा २१ घूस लिएको विरुद्ध काम गरेको अनुसन्धान समितिको ठहर छ । २० वर्षदेखि एन्फाका अध्यक्षमा रहेका थापालाई गतवर्ष ५८ करोडभन्दा बढी अनियमितता गरेको संसदको सार्वजनिक लेखा समितिले ठहर गर्दै अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो । तर, अख्तियारले थापामाथिको अनुसन्धानलाई तामेलीमा थन्क्याएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्