नेभिगेशन
अन्य

इन्धन ल्याउन निजी कम्पनीलाई मनपरि ठेक्का

काठमाडौं । भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयात गर्न ठेक्का पाएको निजी कम्पनी विराट आयललाई प्रतीतपत्र एलसी खोल्न नेपाल आयल निगमले नियमविपरीत २० करोड रुपैयाँ दिएको छ। यति मात्र होइन, त्यही पैसाले ल्याउने तेल निगमले दोब्बर मूल्यमा खरिद गर्दैछ। निगमले १५ दिनका लागि पेट्रोलियम आपूर्ति गर्न सार्वजनिक सूचना आह्वान गरेपछि स्वदेश तथा विदेशका २२ कम्पनीले आवेदन दिएका थिए। तीमध्ये विराटनगरको विराट आयललाई निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको ठाडो आदेशमा पेट्रोलियम आपूर्ति गर्ने ठेक्का दिइएको स्रोतले जनाएको छ। निगमका अनुसार विराट आयलले प्रतिलिटर १ सय ९९ रुपैयाँमा पेट्रोल र १ सय ८७ रुपैयाँमा डिजल आपूर्ति गर्नेछ। सम्बद्ध स्रोतका अनुसार प्रस्ताव पेस गरेका अन्य कम्पनीले विराटको भन्दा लिटरमा ३० रुपैयाँसम्म कम मूल्यमा आपूर्ति गर्ने प्रस्ताव गरेका थिए। उनीहरूले आफ्नै खर्चमा तेल ल्याउने र त्यसलाई निगमले खरिद गरिदिनुपर्ने प्रस्तावसमेत गरेका थिए। ‘तर, कार्यकारी निर्देशक खड्काले प्रतिस्पर्धी २१ कम्पनीको प्रस्तावलाई बेवास्ता गर्दै निगमकै पैसाले तेल किनेर आफैं मूल्य तोक्दै निगमलाई नै बेच्ने विराटलाई ठेक्का दिलाए,’ स्रोतले भन्यो, ‘विराटले बिनालगानी ४ करोड ४ लाख रुपैयाँ चोखै कुम्ल्याउने पक्का भएको छ।’ सिलिगुडीमा प्रतिलिटर पेट्रोल ६६.११ भारु १०५.७७ रुपैयाँ पर्छ। त्यसैगरी, डिजलको मूल्य ४९.५५ भारु ७९.२८ रुपैयाँ पर्छ। तर, विराट आयलले १ सय ९९ रुपैयाँमा पेट्रोल र १ सय ८७ रुपैयाँमा डिजल निगमलाई बिक्री गर्ने सम्झौता गरेको छ। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्