नेभिगेशन
अन्य

राप्रपामा दुई पक्षबीच पुनर्मिलनको तयारी

काठमाडौं । केही समयदेखि दुई समूहमा विभाजित भएर अलगअलग पार्टी गतिविधि गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर राणा र लोकेन्द्रबहादुर चन्द दुवै समूह मिलनको तयारीमा जुटेका छन्। दुवै पक्षले पटकपटक छलफल गरी मिलेर जाने विषयमा अनौपचारिक सहमतिसमेत गरेको स्रोतले बताएको छ। पार्टीको एकता महाधिवेशनले दिएको म्यान्डेटअनुसार सूर्यबहादुर थापापछि लाकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले चक्रीय आधारमा नेतृव गर्ने सहमतिविपरीत राणालाई अध्यक्ष बनाएको भन्दै चन्द पक्ष पार्टीको मुख्य गतिविधिबाट बाहिरिएको थियो। राणा र चन्द पक्षबीच विवाद भएपछि चन्द पक्षले केन्द्रीय समितिको बहुमत जुटाएर आफैं आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको दर्ता गराएको छ। निर्वाचन आयोगले चन्द पक्षमा बहुमतको हस्ताक्षरको सनाखतसमेत गराइसकेको छ। चन्द पक्षको बहुमत भएपछि कात्तिक २४ गते राणा पक्षलाई निर्वाचन आयोगले सनाखतका लागि बोलाएको छ । तर त्यसअघि नै चन्द र राणा पक्षले विवाद समाधान गर्ने सहमतिसमेत गरेका छन्। यद्यपि यसले औपचारिकता दिन भने बाँकी छ। विवादलाई मिलाउन राणा र चन्द पक्षका शीर्ष नेताले गएको सोमबार चन्द निवास लोकन्थलीमा लामो छलफल गरेका थिए । छलफलमा चन्द पक्षबाट स्वयं चन्द, डा. प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, सुनिल थापा र परशुराम खापुङ सहभागी थिए। त्यसैगरी राणा पक्षबाट राणा, दीपक बोहोरा, बुद्धिमान तामाङ, ठाकुर शर्मा र नीलकण्ठ काफ्ले सहभागी थिए । नेताहरू महाधिवेशन हुन अब दुई वर्ष बाँकी भएकाले त्यसलाई तीन नेताले चक्रीय प्रणालीमा नेतृत्व गर्ने सहमति गरेका छन्। जसअनुसार तत्कालका लागि राणाले चन्दलाई नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको छ। आठ महिनासम्म चन्दले नेतृत्व गर्ने र त्यसपछि राणालाई पद हस्तान्तरण गर्ने र पछिल्लो कार्यकाल डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्ने र लोहनी नेतृत्वले नै आगामी महाधिवेशन गर्ने सहमति भएको छ। यसरी नेतृत्व गर्दा तीन नेताबीच आठआठ महिनाका दरले नेतृत्व गर्ने मौका मिल्नेछ। यो प्रस्तावमा नेताहरू डा. प्रकाशचन्द्र लोहनी र सुनिल थापा असन्तुष्ट रहे पनि पछिल्लो समयमा आएर सहमत भएको स्रोतले दाबी गरेको छ। राणा पक्षीय मानिएका पार्टी प्रवक्ता ठाकुर शर्माले छलफल चलिरहेको र एकदुई दिनमा नै टुंगो लाग्ने बताए। चन्द पक्षीय परशुराम खापुङले पनि विभिन्न चरणमा छलफल भएको बताए। अन्नपुर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्