नेभिगेशन
अन्य

वीरगन्ज घटनापछि सेलायो सरकार मधेशी मोर्चाको वार्ता

काठमाडौं । संविधानमा मधेस र थरुहटको असन्तुष्टि सम्बोधन नभएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान बहिष्कार गर्ने, आन्दोलन चर्काउने निर्णय गर्‍यो । ४६ जनाको मृत्यु, दर्जनौं घाइते र गिरफ्तार भइसकेपछि मोर्चाले राजमार्गकेन्द्रित आन्दोलनको ढाँचा बदल्दै सीमा नाकामा धर्ना थालेको थियो । संविधान जारी भएको पर्सिपल्ट अर्थात् असोज ५ यता सरकार र मोर्चाबीच आधा दर्जनभन्दा बढी चरण वार्ताहरु भए । तैपनि ती सार्थक बन्न सकिरहेका थिएनन् । आइतबारको वार्ता भने अकस्मात् सुखद् मोडमा टुंगिएको थियो । मधेस आन्दोलनले अब निकास पाउने हो कि भन्ने आशा सबैतिर सञ्चार हुन पुग्यो किनकि, ८० दिनदेखि मधेसमा जारी आन्दोलन सम्बोधन गर्न आइतबार सरकारी वार्ता टोली पहिलोपटक गम्भीर देखिएको थियो । सीमांकन हेरफेरसम्बन्धी ठूला दलहरुबीच अध्यक्षस्तरमा समिति बनाएर छलफल गरी त्यसका आधारमा अर्को वार्ता बस्ने निर्णय गरेर छुटेका थिए दुवै पक्ष । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि आफ्ना अडानहरुमा लचकता देखाउने छनक दिएको थियो । झमक्क साँझ परेसँगै राजधानीस्थित संघीय समाजवादी फोरम कार्यालयबाट निस्कदा सरकार–मोर्चा दुवै पक्षका नेता प्रफुल्ल मुद्रामा थिए । बल्ल वार्ताको माहोल बनेको दुवै पक्षको ठहर थियो । केही दिनभित्रै उच्च तहको छलफलपछि कांग्रेससमेतको सहमति जुटाएर वार्ता गर्ने भन्दै उनीहरु निस्के । मधेस आन्दोलनको ब्याटल क्राई अर्थात् सीमांकन हेरफेरसहित संविधान संशोधन गर्ने मार्गचित्र अघि बढिसकेको थियो । संकटग्रस्त जनजीवनलाई यत्ति समाचार पनि आशा भर्‍यो । तर दुवै पक्षलाई वीरगन्ज घटनाले फेरि विपरीत ध्रुवमा उभ्याइदिएको छ । योसँगै सरकार र मधेसी आन्दोलनकारीबीच गति लिएको वार्ताको चर्चा एकाएक सामसुम भएको छ । उसो त मधेसी मोर्चाले वीरगन्ज घटनापछि वार्तामा फर्कन कठिन भएको बताए पनि वार्ता भंग नभएको प्रष्ट पारेको छ । तर मोर्चाको वार्ता टोलीका एक सदस्यका अनुसार वीरगन्जमा बिहान नहुँदै सरकारले ‘छापामार शैलीमा शान्तिपूर्ण धर्नाकारी उठाएपछि वार्ताबाट फर्कन उनीहरुलाई दबाब परेको छ । ‘हामीलाई वार्ताको नाममा राजधानीमा नअल्मलिन, मधेस फर्कन तारन्तर फोन आएको आयै छ,’ ती सदस्यले भने, ‘सरकारले पनि खोजखबर गर्न छाडेको छ ।’ सीमा नाकाका आन्दोलनकारीलाई बिहान साढे चार बजे दलबलसहित गएका सुरक्षाकर्मीले जबर्जस्ती हटाएपछि उनीहरु आक्रोशित भएका थिए । त्यसपछि नेपाल–भारत सीमा नाकास्थित मितेरी पुलबाट सुरक्षाकर्मीले आन्दोलनकारीलाई हटाएको भन्दै सोमबार बिहान छ नबज्दै वीरगन्जका केही रेडियोले मधेसी मोर्चाका स्थानीय नेताको भाषण बजाउन सुरु गरे । मध्याह्नसम्ममा स्थिति नियन्त्रण बाहिर गइसकेको थियो । दिउसो २ बजे प्रहरीको गोलीले एक भारतीय युवा आशिषकुमार राम मारिए । घाइते हुनेहरु थुपै्र छन् । गृह मन्त्रालयले वार्ताको माहोल बन्दै गर्दा प्रदर्शनकारी अघिल्ला दिनहरुभन्दा अझ आक्रामक रुपमा प्रस्तुत हुनु अस्वाभाविक रहेको दाबी गरेको छ । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जारी गरेको विज्ञप्तिअनुसार चौकीमाथि पेट्रोल बम प्रहार गर्दै आक्रमण गर्दा प्रहरीले चेतावनी दिँदासमेत उक्त भीड झन् उत्तेजित भई प्रहरीमाथि जाईलागेकोले प्रहरी चौकी रक्षा गर्न र स्थिति नियन्त्रणमा लिन प्रहरीले ४४ सेल अश्रुग्यास प्रहार गरेको बताइएको छ । आन्दोलनकारी मोर्चाका नेताहरुले भने सरकारले आन्दोलन समाप्त पार्न ३–४ दिनयता आन्तरिक तयारी गरिरहेको आरोप सोमबार अपराह्न राजधानीमा पत्रकार सम्मेलनमार्फत् लगाएका थिए । ‘मधेसमा केही असहज हुनेगरी गतिविधि भइरहेको छ भनी हिजो हामीले सरकारी टोलीलाई जानकारी गराएका थियौं, केही मन्त्रीहरुका सार्वजनिक अभिव्यक्ति र तयारी पनि त्यस्तै थिए,’ सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने । बल्ल बल्ल बन्दै गरेको वार्ताको माहोल सरकारले नै बिगारेको मोर्चा वार्ता टोलीको आरोप छ । वीरगन्ज घटनापछि अहिलेसम्म सरकारी वार्ता टोलीका कुनै पनि सदस्यसग सम्पर्क नभएको मोर्चाका वार्ता टोली सदस्य रहेका समाजवादी फोरम उपाध्यक्ष लालबाबु राउतले सुनाए । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्