नेभिगेशन
अन्य

वार्ता टोलीमा नबस्ने संविधान संसोधनका लागि दबाबको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेस आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्न गठित सरकारी टोलीमा सहभागी नहुने भएको छ । प्रधानमन्त्री केपी ओलीसँगको बुधबारको भेटमा कांग्रेस सभापति सुशील कोइरालाले सरकारी वार्ता टोलीमा सहभागी नहुने जानकारी दिएका हुन् । सरकारले मोर्चासँग वार्ता गर्न उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा संयोजकत्वको टोली गठन गरेको छ । मधेसी मोर्चाका नेताहरूले कांग्रेसबिना संविधान संशोधन हुन नसक्ने बताउँदै प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्व सहभागी हुने गरी छुट्टै समिति गठन हुनुपर्ने माग गरेका थिए । ओलीसँगको भेटमा कोइरालाले सरकार सञ्चालनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक समन्वय समिति र सरकारी वार्ता टोलीले बोलाएको बैठकमा सहभागी हुन नसकिने बताएका थिए । कोइरालाले मधेसी मोर्चासँग वार्ता गर्न प्रमुख दलका नेताहरू सम्मिलित सर्वदलीय या संसदीय समिति बनाउनुपर्ने प्रस्ताव गरेको स्रोतले बतायो ।सभापति कोइरालाले कांग्रेस नेतृत्वको सरकारले ल्याएको संविधान संशोधनको विधेयकलाई अघि नबढाइएकोमा ओलीसँग असन्तुष्टिसमेत पोखेका छन् । मधेसको माग सम्बोधन गर्न प्रमुख दलको पूर्व प्रतिबद्धता अनुसार तत्कालीन सरकारले दुई बुँदाको संविधान संशोधनको विधेयक संसदमा प्रस्तुत गरेको थियो । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका हरेक अंगमा प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई संशोधनमार्फत सम्बोधन गर्न विधेयक ल्याइएको थियो । तर, उक्त विधेयक अघि नबढेपछि कांग्रेस नेताहरू एमालेसँग रुष्ट छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्