नेभिगेशन
अन्य

आवश्यक इन्धन खरिद गरेर लैजान चीनको प्रस्ताव

काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको हजार टन १३ लाख लिटर पेट्रोल बजारमा पठाइसकेपछि थप आवश्यक इन्धन खरिद गरेर लैजान नेपाललाई प्रस्ताव गरेको छ । अनुदानको पेट्रोल प्रयोगपछि सर्वसाधारणको प्रतिक्रिया बुझेर निर्णय लिन उसले नेपाली टोलीलाई सुझाएको छ । सिगात्सेबाट पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यास खरिद गरेर लैजान चीनले प्रस्ताव गरेको हो । नेपालले पेट्रोल ल्याइरहेको सरकार स्वामित्वको चिनियाँ नेसनल पेट्रोलियम कर्पोरेसन सिएनपिसीको सिगात्सेमा ५० लाख लिटर क्षमताको डिपो छ । सोही डिपोबाट इन्धन उपलब्ध गराउने जानकारी चिनियाँ अधिकारीहरूले नेपाली टोलीलाई गराएको थियो । केही दिनअघि बेइजिङमा इन्धन आयातबारे समझदारी भएका वेला नेपाली सरकारी टोलीसँग चिनियाँ पक्षले अनुदानको तेल पठाइसकेपछि खरिद गरेर लैजान सुझाएको टोलीका एक सदस्यले जानकारी दिए । ‘अनुदानमा दिने हजार टन पेट्रोल सकिएपछि तपाईं–हाम्रो व्यापारिक सम्बन्ध त्यत्तिकै रोकिनुहुन्न,’ चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै ती अधिकारीले भने, ‘अनुदानको तेल सकिएसँगै आवश्यक मात्रामा खरिद गरेर लैजान सक्नुहुन्छ ।’ सिएनपिसी र नेपाली टोलीबीच नेपालले तेल खरिद गर्ने र चीनले तेल बेच्न सक्ने गरी समझदारीमा भएको छ । नेपालले चाहेमा अनुदानको तेल सकिएको भोलिपल्टै चीनबाट व्यापारिक हिसाबले नै पेट्रोल, डिजेल, ग्यास ल्याउन सक्छ । नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्