नेभिगेशन
अन्य

विशिष्ट व्यक्तिलाई विशेष निर्णय गरी सुविधा दिने तयारी

काठमाडौं । निवर्तमान राष्ट्रपति डा. रामवरण यादवसहित अवकाशप्राप्त विशिष्ट व्यक्तिलाई सरकारले विशेष निर्णय गरी सुविधा दिने तयारी गरेको छ । गृह मन्त्रालयको छलफलमा पूर्वराष्ट्रपतिलाई मात्र निवास सुविधा दिने तय भएको छ । पूर्वराष्ट्रपति डा। यादव, उपराष्ट्रपति परमानन्द झा, पूर्वसभामुख सुवास नेम्वाङलाई विशेष निर्णय गरी सुविधा दिन लागिएको हो । गृहको प्रस्तावमा पूर्वराष्ट्रपति डा. यादवलाई निवास निर्माण नभएसम्म घरभाडा, एउटा गाडी, मासिक दुई सय लिटर इन्धन, गाडी मर्मत खर्च, मसलन्द तथा अतिथि सत्कार खर्च दिने उल्लेख छ । त्यस्तै, निजामती कर्मचारीबाट एक अधिकृत, एक नासु र दुई कार्यालय सहयोगी पूर्वराष्ट्रपतिको निवासमा खटाइनेछ । अतिथि सत्कार खर्च कति दिने भन्ने निश्चित भइसकेको छैन । डा. यादव बिहीबार नै शीतलनिवासबाट बागडोल सरिसकेका छन् । निवर्तमान उपराष्ट्रपति परमानन्द झालाई अवकाशपछि घर मर्मत खर्च, गाडी, मसलन्द खर्च, मासिक एक सय ७५ लिटर इन्धन सुविधा दिने प्रस्ताव गृहको छ । त्यस्तै, एक अधिकृत र एक कार्यालय सहयोगी खटाइनेछ । पूर्वसभामुख सुवास नेम्वाङलाई पनि एउटा गाडी, मासिक एक सय ७५ लिटर इन्धन, केही अतिथि सत्कार खर्च, गाडी मर्मत खर्च दिने प्रस्ताव गरिएको छ । पूर्वसभामुखका लागि पनि एक नासु र एक श्रेणीविहीन कर्मचारी खटाइनेछ । नेम्वाङलाई मात्र यो सुविधा दिने प्रस्ताव गृहले अघि बढाउन लागेको छ । पूर्व विशिष्ट व्यक्तिको सुविधासम्बन्धी कानुन नभएकाले तीनजनाको सुविधाका लागि विशेष प्रस्ताव मन्त्रिपरिषद् लैजान लागिएको गृहका एक अधिकारीले बताए । निवर्तमान राष्ट्रपति डा। यादव बिहीबार नै शीतलनिवासबाट बागडोल सरिसकेका छन् । बागडोलमा भाडाको घरमा उनी बस्नेछन् । सरकारले गत वर्ष विशिष्ट व्यक्तिको सुरक्षा तथा सुविधासम्बन्धी अध्यादेश पारित गरी कार्यान्वयन गरेको थियो । तर, पछि संसद्बाट अनुमोदन पनि भएन । अनुमोदनका लागि सरकारले संसद्मा दर्ता गरे पनि धेरै सुविधा दिन लागिएको भन्दै विवादमा परेपछि गृहमा फर्काइएको थियो । सोही अध्यादेशमै भएको प्रावधानअनुसार अहिले विशेष प्रस्ताव मन्त्रिपरिषद्मा लैजान लागिएको हो । निवर्तमान राष्ट्रपति डा. यादवले विभिन्न सुविधा मागेर प्रधानमन्त्री कार्यालयमा पत्राचार गरेका थिए । उनले चार पन्ना लामो पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका थिए । उपराष्ट्रपति झाले भने पत्र लेखेका छैनन् । तर, आफ्नो सुविधाबारे गृहका अधिकारीहरूसँग पटक–पटक चासो व्यक्त गरेका छन् । झा भने सानेपास्थित एक अपार्टमेन्टमा सर्न लागेका छन् । गत साता मात्र उनले अपार्टमेन्ट खरिद गरेको स्रोत बताउँछ । नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्