नेभिगेशन
अन्य

एमालेले मन्त्रीको टुंगो लगाउन सकेन

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको एमालेका कारण मन्त्रिपरिषद् विस्तार केही दिनका लागि लम्बिएको छ । एमालेबाट मन्त्री बन्नेको नाम टुंगो नलाग्दा केपी शर्मा ओली नेतृत्वको सरकारले तीन साता बितिसक्दा पनि पूर्णता पाउन नसकेको हो । पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीहरूको टुंगो लगाउन भन्दै बसेको एमाले शीर्ष नेताहरूको बैठकमा सम्भावित मन्त्रीहरूको विषयमा छलफल भएन । शनिबार बेलुकी प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठक राष्ट्रिय राजनीतिको समसामयिक अवस्थाबारे सामान्य छलफलमा मात्र केन्द्रित भएको थियो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल सहभागी थिए । स्थायी समिति बैठकले पाँच नेतालाई सम्भावित मन्त्रीहरूको नाम टुंगो लगाएर स्थायी समितिमा ल्याउन म्यान्डेट दिएको छ । सत्ता गठबन्धन दल एमाओवादीले आफ्नो भागमा परेका सबै मन्त्री पठाए पनि प्रधानमन्त्री ओलीले आफ्नै पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको निर्णय गर्नसकेका छैनन् । आइतबार नै मन्त्रिपरिषद्को विस्तार गर्ने भनिए पनि अहिलेसम्म मन्त्रीहरूको नाममा औपचारिक छलफल नै नभएकाले मन्त्रिपरिषद् विस्तार केही दिन पर धकेलिने भएको छ । ‘उपराष्ट्रपतिको शपथलगत्तै फेरि बैठक बसेर पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने कुरा भएको छ, त्यसपछि मात्र मन्त्रिपरिषद् विस्तार हुन्छ,’ नेता नेपालले भने । वरिष्ठ नेता झलनाथ खनालले पनि चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘आइतबार नै त अब सम्भव छैन, तर चाँडै नै विस्तार हुन्छ,’ उनले भने । तराई मधेसको समस्या सम्बोधन, सुरक्षाको प्रत्याभूति, सरकार सञ्चालनमा पार्टीसँगको सम्बन्ध र समन्वयजस्ता विषयमा सामान्य छलफल चले पनि मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल प्रवेश नै नगरेको वरिष्ठ नेता खनालले बताए । स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले एमालेको भागमा जम्मा १० मन्त्रालय हुने जानकारी दिएका थिए । यसअघि एमालेबाट तीन मन्त्री बनाएकोमा उद्योग र कानुन मन्त्रालय लिएको छ भने एक विनाविभागीय छन् । एमालेले रक्षा, अर्थ, सञ्चार, स्वास्थ्य, पर्यटन, स्थानीय विकास र सहरी विकास मन्त्रालय लिने भएको छ । दोस्रो सत्तासाझेदार एमाओवादीले उपप्रधानमन्त्री र गृहसहित आठ मन्त्रालय पाइसकेको छ । एमालेबाट मन्त्रीका लागि भीम रावल, विष्णु पौडेल, श्रीमाया थकाली, पशुपति चौलागार्इं, भानुभक्त ढकाल, यज्ञराज सुनुवार, प्रेम आले, शत्रुघन महतो, बैजनाथ चौधरीलगायतका नाममा अनौपचारिक छलफल चलिरहेको एक नेताले बताए । नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्