नेभिगेशन
अन्य

उपराष्ट्रपतिमा नन्दकिशोर पुन विजयी

काठमाडौं । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य नन्दबहादुर पुन पासाङ उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। एमाओवादीका स्थायी समिति सदस्य पुन शनिबार संविधानसभा भवनमा भएको निर्वाचनमा नेपाली काँग्रेसका सांसद् अमियकुमार यादवलाई पराजित गरी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। व्यवस्थापिका संसद्मा ५ सय ९६ जना सांसद् रहेकामा पुनले ३ सय २५ मत पाएका थिए। पुनले पाएको मत खसेको मतको ५४ दशमलव ५३ प्रतिशत हो। निर्वाचनमा ५ सय ४७ मत खसेको थियो। खसेको मतमध्ये १० मत भने बदर भएको छ। पुनका प्रतिद्धन्दी नेपाली काँग्रेसका उमेद्वार अमियकुमार यादवले २ सय १२ मत पाउनुभयो। काँग्रेससँग २ सय ७ जना सांसद रहेकामा दुई जना अनुपस्थित भएकाले यादवले अन्य दलका ७ जना सांसद्को मात्र मत पाएका हुन्। यसअघि राष्ट्रपतिको निर्वाचनमा काँग्रेस उम्मेद्वार कुलबहादुर गुरुङले २ सय १४ मत ल्याएका थिए। निर्वाचनपछि शनिबार अपरान्ह बसेको व्यवस्थापिका संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले पुन उपराष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिन्। सभामुख घर्तीले मत परिणाम सार्वजनिक गरिरहँदा पुन दर्शकदीर्घामा बसेका थिए। सांसद्हरुले नवनिर्वाचित उपराष्ट्रपति पुनलाई संविधानसभा भवनको शंकर हलमा बधाइ दिएका थिए। गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति बनेको पुनले तत्कालीन माओवादीले संचालन गरेको जनयुद्धमा लडाकुहरुको कमाण्डरको जिम्मेवारी सम्हालेका थिए। तत्कालीन माओवादीका लडाकुहरुलाई नेपाली सेनामा समायोजन गरिएकामा सक्रिय राजनीति गर्न भन्दै पुनले सेनामा जान अस्वीकार गरेका थिए। राजनीतिमा सक्रिय हुन भन्दै दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौको निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेद्वार बनेका पुन नेपाली काँग्रेसका युवा नेता गगन थापासँग फराकिलो अन्तरले पराजित भएका थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्