नेभिगेशन
अन्य

सधै लो प्रोफाइल बस्ने गुरुङ राष्ट्रको सर्वोच्च पदमा उमेदवार

काठमाडौं । कुलबहादुर गुरुङको जन्म १९९१ मंसिर ८ गते इलाम बजारमा भएको थियो । उनका बाबु पहलबहादुर गुरुङ र आमा पूर्णकुमारी गुरुङ हुन् । गुरुङ सानैदेखि राजनीतिमा सक्रिय थिए । गुरुङको प्रारम्भिक शिक्षा इलाममै भएको थियो । उनले अंग्रेजीमा बिएड गरेका छन् । २०१८ देखि २०२९ सालसम्म गुरुङले इलाम आदर्श माविमा अंग्रेजी र विज्ञान शिक्षकका रूपमा पढाएका थिए । झलनाथ खनाल, सुवास नेम्वाङ, केशव थापाजस्ता नेताहरू उनले पढाएका विद्यार्थी हुन् । खनाल एमाले अध्यक्षदेखि नेपालको प्रधानमन्त्रीसम्म भइसकेका छन् । नेम्वाङ पटक–पटक सभामुख भए । ०२९ देखि ०३३ सालसम्म गुरुङले भारतमा निर्वासित जीवन बिताए । ०३३ सालमा बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर पुस १६ गते नेपाल आउनुअगाडि गुरुङलाई नेपालको माहोल बुझ्न सोही वर्षको कात्तिक २५ गते नै बिपीले नेपाल पठाएका थिए । त्यतिखेरको पञ्चायती सरकारको क्रियाकलाप र मनस्थिति बुझ्न उनलाई नेपाल पठाइएको थियो । ०३३ देखि ०३६ सालसम्म गुरुङ झापा जेलमा परे । ०३६ सालको जनमतसंग्रहका वेला, क्याप्टेन यज्ञबहादुर थापालाई मारेपछि गुरुङलाई पनि फाँसी दिने कुरा थियो । तर, जनमतसंग्रहको घोषणा भएपछि उनको फाँसी रोकिन पुगेको थियो । ०४७ सालको आन्दोलनमा पनि गुरुङ तीन महिना जेल परे । उनी ०३५ देखि ०५५ सालसम्म इलाम कांग्रेसको सभापति भएका थिए । ०४८ सालदेखि हालसम्म उनी केन्द्रीय सदस्य रहँदै आएका छन् । ११औँ महाधिवेशनबाट उनी महामन्त्री भए । ०५१ सालमा इलाम–२ बाट र ०६४ मा इलाम–३ बाट संसद्मा निर्वाचित सदस्य भए । ०५६ सालको आमनिर्वाचनमा भने गुरुङ सुवास नेम्वाङसँग पराजित हुन पुगे । संविधानभामा उनी समानुपातिक सभासद् बनेका थिए । २०६४ सालको संविधानसभापछि ज्येष्ठ सदस्यका रूपमा गुरुङले नै बैठकको अध्यक्षता गरेका थिए । २०६५ जेठ १५ गतेको पहिलो बैठकमा गुरुङले नेपालमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भएको घोषणा गरेका थिए । नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्