नेभिगेशन
अन्य

राष्ट्रपति पदका लागि गुरुङ, भण्डारी र मर्हजनको उमेदवारी

काठमाडौं । राष्ट्रपति पदका लागि भोली हुन गइरहेको चुनावका लागि तीन जनाले उमेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका तर्फबाट कुलबहादुर गुरुङ र एमाले लगायत सत्तारुढ गठबन्धनका तर्फबाट एमाले उपाध्यक्ष बिद्या भण्डारी र सत्तारुढ गठबन्धनकै नेपाल मजदुर किसान पार्टीका तर्फबाट नारायण महर्जनले उमेदवारी दर्ता गराएका छन् । राष्ट्रपति चयनका लागि भोलि संसदमा गोप्य मतदान हुनेछ । कांग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङले पनि राष्ट्रपति पदका लागि उमेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा महामन्त्री प्रकाशमान सिंह र समर्थकमा कृष्ण सिटौला छन् ।उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गुरुङले दलहरुबीच सहमतिको सम्भावना रहेको भन्दै सहमति हुँदा आफ्नो नाममा हुने दाबी गरे । भण्डारीको प्रस्तावकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा छन् । भण्डारीले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी राष्ट्रिय एकताको संरक्षणका लागि भएको प्रतिक्रिया दिएकी छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका नारायण महर्जनले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन् । सरकारलाई समर्थन गर्ने दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रमा बसेपनि नेमकिपाले राष्ट्रपतिमा छुट्टै उम्मेदवारी दिएको हो । महर्जनको प्रस्तावकमा नेमकिपाका सांसद प्रेम सुवाल छन् भने समर्थकमा डिल्लीप्रसाद काफ्ले छन् । भक्तपुर ११ का महर्जन गैर सांसद हुन् । राष्ट्रपतिमा आम सर्वसाधारणले पनि उम्मेदवारी दिन सक्छन् तर, प्रस्तावक र समर्थक सांसद चाहिन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्