नेभिगेशन
अन्य

तीस जुवाडे पक्राउ , डेढ लाख बरामद

रत्ननगर । जिल्ला प्रहरी कार्यालय चितवनले यो दसैँमा तास र जुवा खेल्ने ३० जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले दिएको जानकारीअनुसार दसैँका बेला प्रहरीले विभिन्न क्षेत्रमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । तास र जुवा खेलिरहेको अवस्थामा रङ्गेहात उनीहरुलाई पक्राउ गरी जुवा ऐनअनुसार कारबाही थालिएको कुँवरले आज जानकारी दिए । उनले जुवा तासविरुद्धको अभियानबारे जानकारी दिँदै आगामी दिनमा समेत यसको नियन्त्रणका लागि प्रहरी परिचालन गर्ने बताए । खालबाटै एक स्थानबाट रु ९२ हजार र अर्को दुई स्थानबाट करिब रु २३÷२३ हजार गरी झन्डै डेढ लाख रकमसमेत बरामद गरेको उनको भनाइ छ । कात्तिक ६ गते राति पूर्वी चितवनको कुमरोजस्थित एक होटलमा तास र कौडा खेलिरहेका १४ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट रु ९२ हजार नगदसमेत बरामद गरिएको हो । यस्तै गएको शुक्रबार प्रहरीले रत्ननगर– ९ स्थित कुखुरा फार्मको दाना राख्ने स्थानमा तास खेलिरहेका आठजनालाई पक्राउ गरेको छ । एकजना नेपाली सेनाका जवानसमेत रहेकाले उनलाई कारबाहीका लागि सेनालाई बुझाइएको प्रहरीले जनाएको छ । जिल्लामा चोरीका घटना भने न्यून भएको प्रहरीले जनाएको छ । यो समयमा फरार रहेका एकजना थुनुवालाई समेत पक्राउ गरिएको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्