नेभिगेशन
अन्य

एमालेमा राष्ट्रपतिमा उम्मेदवारी बारे छलफल गर्न संसदीय दलको बैठक

काठमाडौं । बर्तमान सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिने भएको छ । गएराति सम्पन्न पार्टीको स्थायी समितिको बैठकले सहमतिको प्रक्रियाबाट राष्ट्रपति निर्वाचनको निम्ति आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको सो पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए । यद्यपि एमालेले उम्मेदवारको नाम तय गरेको छैन । बैठकले राष्ट्रिय सहमतिको यात्रामा सँगसँगै अघि बढ्न नेपाली काँग्रेसलगायत सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनलगायत आगामी दिनमा आउने विभिन्न घटनाक्रममा सहमतिका साथ अघि बढ्नुपर्नेमा बैठकले जोड दिएको छ । काँग्रेसले पनि राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय शनिबार गरेको थियो । सो विषयमा छलफल गर्न आज बिहान ११ बजे एमाले संसदीय दलको बैठक बस्नेछ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकले सामना गरिरहेको राष्ट्रिय सङ्कट, संविधानको सफल कार्यान्वयन, लोकतन्त्रको स्थायित्व, राष्ट्रिय एकताको संवद्र्धन, सामाजिक सद्भाव, भौगोलिक एकता, मुलुकको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताका लागि अहिले पनि राष्ट्रिय सहमतिको आवश्यकता रहेको निष्कर्ष निकालेको छ । सबै राजनीतिक दल, नागरिक समाज, मुलुकका सबै सङ्घसंस्था र आमजनताको एकताको उच्च प्रयत्नबाट नै वर्तमान समस्याको समाधान निकाल्नुपर्नेमा बैठकले जोड दिएको छ । दक्षिणी सिमानामा भारतले गरेको अघोषित नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थितिको बारेमा बैठकमा गम्भीरताका साथ छलफल भई देशको जनजीवनलाई सहज बनाउनका लागि बहुपक्षीय विकल्पको निम्ति ठोस ढङ्गले प्रयत्न गर्न र छिटोभन्दा छिटो आपूर्ति व्यवस्थालाई सहज बनाउन र यसका लागि हरसम्भव उपाय अपनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको सचिव भट्टराईले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्