नेभिगेशन
अन्य

गैर आवासीय नेपाली संघ अध्यक्षमा फेरि घले विजयी

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा शेष घले दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । बिहीबार राजधानीको सोल्टी होटलमा भएको निर्वाचनमा प्रतिद्वन्द्वी टिबी कार्कीलाई पराजीत गर्दै घले अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार घलेले ८ सय ६७ मत प्राप्त गरेका छन् । कार्कीले भने २ सय ६७ मत प्राप्त गरेका छन् । अध्यक्षका उमेदवार रतन झाले घलेलाई सघाउँदै उमेदवारी फिर्ता लिएका थिए । दुई उपाध्यक्षमा भवन भट्ट र कुमार प्रसाद पन्त बिजयी भएका छन् । भट्टले ५ सय ३८ र पन्तले ५ सय १३ मत पाए । त्यस्तै महासचिबमा बद्री केसी ५ सय ५५ मतका साथ विजयी भए । कोषाध्यक्षमा हिक्मतबहादुर थापा र सचिवमा अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएको समितिले जनाएको छ । एसिया संयोजकमा किरणविक्रम थापा, उपसंयोजकमा कृष्णप्रसाद पाण्डे र रोविन्द्रप्रसाद श्रेष्ठ विजयी भएका छन् । अमेरिका संयोजकमा सोनाम लामा र उपसंयोजकमा आङछिरि शेपा विजयी भए । मध्यपूर्व संयोजकमा डम्बरबहादुर क्षेत्री र उपसंयोजक धर्मराज गिरी र उमेश अधिकारी विजयी भए । उनीहरुको कार्यकाल क्रमशस् एकएक वर्षको रहने छ । यस्तै यूरोप संयोजकमा कुल आचार्य निर्विरोध निर्वाचित भएका थिए भने उपसंयोजकमा दावा गाल्जे शेर्पा र प्रेमबहादुर गुरुङ विजयी । ओसनिया संयोजकमा महेन्द्रकुमार लम्साल र उपसंयोजकमा रमेश जोशी विजयी । अफ्रिका संयोजकमा सुनिल कार्की निर्विरोध निर्वाचित भए भने उपसंयोजकमा कुनै उम्मेदवारी नै परेन । यस्तै, युवा संयोजकमा विजय पोखरेल विजयी भए भने उपसंयोजक लोकराज शर्मा निर्विरोध निर्वाचित भए । महिला संयोजक सपिला राजभण्डारी र उपसंयोजकमा रजनी प्रधान विजयी भए । अगामि दुई बर्षका लागि घलेको अध्यक्षतामा नयाँ समिति चयन भएको हो । लमजुङको घनपोखरा गाविसमा जन्मिएका घले अष्ट्रेलियका ९९ औं धनीमा पर्छन् । उनको शिक्षा, घरजग्गा र होटलमा लगानी छ । उनले नेपालमा ८ अर्ब लगानीमा पाँच तारे होटल निर्माण गर्दैछन् । विश्व बजारमा साम्राज्य जमाएको सेराटनसँगको प्राबिधिक साझेदारीमा उनले पाँच तारे होटल खोल्न लागेका हुन् । नारायणहिटी दरबार नजिकको १३ रोपनी जग्गामा होटल निर्माणको काम भईरहेको छ । २ सय २५ कोठाको होटल सन् २०१८ फेब्रुअरीसम्ममा सञ्चालन गर्ने तयारी छ । घले सिभिल ईन्जीनियर हुन् । उनलाई गत बैशाख १२ गते गएको भूकम्पपछिको पूननिर्माणका लागि सरकारले विशेष दूत नियुक्त गरेको छ । उनले चुनावी ऐजेन्डा पनि नेपालमा पूननिर्माणमा योगदान पुर्‍याउने बनाएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्