नेभिगेशन
अन्य

ओलीले प्रधानमन्त्री भएपछि किने जन्मघर

काठमाडौं । बुवा मोहनप्रसाद ओलीले २०२४ सालमा बेचेको तेह्रथुमको इवा गाविसस्थित जन्मघर प्रधानमन्त्री केपी ओलीले आफ्नो नाममा फिर्ता गरेका छन् । पुर्खेउली घरजग्गा आफ्नो नाममा फिर्ता गर्ने परिवारको इच्छाअनुसार ओलीले जन्मघरसहित ३० रोपनी जग्गा किनेका हुन् । मोहनप्रसादले स्थानीय नन्दलाल तिवारीलाई २०२४ सालमा साढे ११ हजार रुपैयाँमा उक्त घरजग्गा बेचेर झापा बसाइँ सरेका थिए । एमाले अध्यक्ष र संसदीय दलको नेता भएपछि एक वर्षअघि ओलीले जन्मघर किनेर आफ्नो नाममा पास गरेका हुन् । उक्त घरजग्गा स्थानीय नन्दलाल, भवानीप्रसाद उप्रेती, श्रीप्रसाद विमली, त्रिलोचन तिवारी, तुलसी संग्रौला र खगेन्द्र तामाङ हुँदै फेरि केपी ओलीकै नाममा नामसारी भएको छ । ओली प्रधानमन्त्री निर्वाचित भएपछि पत्रपत्रिका र सामाजिक सञ्जालमा उनको जन्मघरले चर्चा पाएको छ । पहाडी जिल्ला तेह्रथुमको सामान्य परिवारमा जन्मिएका ओली मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि शुभचिन्तक र पार्टीका कार्यकर्ताले उक्त घरको फोटो अपलोड गरी बधाई दिने गरेका छन् । ओलीले एक वर्षअगाडि भाइ जयप्रसादलाई तेह्रथुम पठाएर जन्मघर स्थानीय खगेन्द्र तामाङसँग किनेर आफ्नो नाममा पारेको बुबा मोहनप्रसादले बताए । ओलीको पुर्खेउली घरजग्गा फिर्ता गराउन इवा गाविसका पूर्वगाविस उपाध्यक्ष तुलसी संग्रौलाले तामाङसँग पहल गरेका थिए । संग्रौलाले उक्त घर २०६५ सालमा तामाङलाई ६ लाखमा बिक्री गरेका थिए । अन्नपुर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्