नेभिगेशन
अन्य

आज दशैंको दोश्रो दिन ब्रह्मचारिणी देवीको पुजाआजा

काठमाडौं । नेपाली समाजमा मनाइने महान्पर्व बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिंदै छ । ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने गरिन्छ । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रहमचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ । माता पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ । शास्त्रहरुमा उनको वदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ । ब्रह्मचारिणी देवीले एक हातमा कमल धारण गरेकी छन् भने दोस्रो हातमा कमण्डलु लिएकी छन् । कमलले सच्चिदानन्द ब्रहमस्वरुप संकेत गर्दछ भने कमण्डलुले वरदान र आशिर्वादको अर्थ संकेत गरेको छ । देवी ब्रहमचारिणीको पूजाआराधना गर्न भक्तजनहरु आज बिहानैदेखि मुलुकका विभिन्न शक्तिपीठ, देवीमन्दिरमा भेला भएका छन् । घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरुको वाचन श्रवणको क्रम पनि चलिरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्