नेभिगेशन
अन्य

नयाँ सभामुख चयन प्रक्रिया आजबाट

काठमाडौं । व्यवस्थापिका–संसद्ले नयाँ सभामुखको चुनावी प्रक्रिया बुधबार थाल्ने भएको छ । दिउँसो ३ बजेदेखि बस्ने संसद् बैठकअघि नै सभामुख सुवास नेम्वाङले पदबाट राजीनामा दिई मार्गप्रशस्त गर्नेछन् । सभामुखले उपसभामुखसमक्ष राजीनामा बुझाउनेछन् । नयाँ संविधानको धारा २९९ २ मा संसद् बैठक आह्वान भएको २० दिनभित्र नयाँ सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने प्रावधान भएकाले नेम्वाङले समयमै राजीनामा दिन लागेको संसद् सचिवालयले जनायो । ‘नयाँ सभामुखको निर्वाचन प्रक्रियाको कार्यसूची तयारी भइरहेको छ । त्यसलाई सहज बनाउन सभामुखज्यूले बुधबार राजीनामा बुझाउनुहुनेछ,’ सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले भने । संविधानको उक्त प्रावधानमा अधिवेशन आह्वान भएको २० दिनभित्र संसद्का सदस्यहरूले आफूमध्येबाट राजनीतिक सहमतिका आधारमा सभामुख र उपसभामुख एक–एकजना निर्वाचित गर्ने व्यवस्था छ । असोज महिनाभित्रै नयाँ सभामुख र उपसभामुख निर्वाचित गरिसक्ने तयारीमा सचिवालय जुटेको छ । नयाँ राष्ट्रपति र उपराष्ट्रपति भने कात्तिक १५ भित्रै टुंगो लागिसक्नेछ । ती दुवै पद संसद् सुरु भएको एक महिनाभित्र निर्वाचित भइसक्नुपर्ने संविधानमा व्यवस्था छ । चालू अधिवेशन असोज १५ गते सुरु भएको थियो । नेम्वाङले राजीनामा दिएपछि उपसभामुख ओनसरी घर्तीले कार्यवाहक सभामुखका रूपमा निर्वाचन गराउनेछिन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्