नेभिगेशन
अन्य

कोइरालालाई भोट दिन कांग्रेसको अपिल

काठमाडौं । नेपाली कांग्रेसले व्यवस्थापिका संसदमा आइतबार हुने प्रधानमन्त्रीको निर्वाचनमा पार्टी उम्मेदवार सुशील कोइरालालाई मतदान गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई अपिल गरेको छ । वार्ता र संवादबाट तराई–मधेसमा जारी आन्दोलनलगायत समस्याको समाधान खोज्न सकिने स्पष्ट गर्दै पार्टीका तर्फबाट प्रवक्ता दिलेन्द्रप्रसाद बडूले शनिबार साँझ अपिल जारी गरेका हुन् । अपिलमा मुलुकमा देखिएको समस्याको समाधाननिम्तिन कोइरालाको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहयोग गर्न आग्रह गरिएको छ । तराई–मधेससहित आन्दोलतरत पक्षका बाँकी जायज माग र विषयसमेत वार्ता र संवादको निष्कर्षबाट सम्बोधन गर्न सकिने जनाउँदै कांग्रेसले राष्ट्रिय अखण्डताको रक्षा गर्न तथा मधेस, पहाड र हिमालबीच सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि दूरदृष्टि र राष्ट्रिय जिम्मेवारीका साथ अग्रसर हुन सबैसँग आग्रह गरेको छ । ‘देशको वर्तमान विशिष्ट अवस्थामा नेपाली कांग्रेस देशका सम्पूर्ण राजनीतिक दल, बुद्धिजीवी, पेसाकर्मी, नागरिक समाजलगायत सम्पूर्ण आदरणीय नेपाली दिदीबहिनी दाजुभाइ समेतमा भावावेशमा नलागी धैर्य र संयमका साथ आपसी एकता कायम राख्न हार्दिक अपिल गर्दछु,’ बडूद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेकपा एमालेको असहयोगका कारण महिला, आदिवासी, जनजाति, दलित, मधेसी, थारू, मुस्लिम, अल्पसंख्यक, पिछडिएको वर्ग लगायतका समुदायबाट उठाइएका प्रमुख मुद्दालाई सम्बोधन गर्न नसकिएको कांग्रेसले जनाएको छ । ‘महिला, आदिवासी, जनजाति, दलित, मधेसी, थारू, मुस्लिम, अल्पसंख्यक, पिछडिएको वर्ग लगायतका समुदायबाट उठाइएका प्रमुख मुद्दा (अन्तरिम संविधानको मान्यताअनुरूप समानुपातिक, समावेशी एवम् निर्वाचन क्षेत्र निर्धारण) संविधान संशोधनको प्रक्रिया सम्माननीय प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालाज्यूले आफ्नो र सामूहिक प्रतिबद्धताअनुरूप मन्त्रिपरिषदका तर्फबाट सहकर्मी एमाले पक्षको असहयोगका बाबजुद संसदमा दर्ता भइसकेको यथार्थ सर्वविदितै छ,’ अपिलमा भनिएको छ । मुलुकमा देखा परेको राजनीतिक ध्रुवीकरणले यथार्थमा राष्ट्र र समाजको तत्कालीन र दीर्घकालीन हित नहुने स्पष्ट गर्दै कांग्रेसले राष्ट्रिय एकता र मेलमिलापका लागि पनि आफ्नो नेतृत्वमा सरकार गठनमा जोड दिएको जनाएको छ । तराई, पहाड र हिमालबीच आपसी सद्भाव र राष्ट्रिय एकता कायम गर्न कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारमा अघि सारेको जनाउँदै कांग्रेसले भनेको छ, ‘बिपी कोइरालाले मार्गदर्शन गरेको राष्ट्रिय एकता र मेलमिलापको मार्गबाट राष्ट्र रक्षा गर्नका निमित्त पार्टी सभापति एवं संसदीय दल नेता सुशील कोइरालाले वर्तमान संविधानअनुसार असोज २४ गते हुने प्रधानमन्त्री पदको निर्वाचनमा उम्मेदवारी दिनुभएको यथार्थ सादर अनुरोध गर्दै सो उद्देश्यलाई साकार गर्नका निमित्त नेपाली कांग्रेसको पक्षमा मतदान गरी महŒवपूर्ण योगदान पुर्याउन सम्पूर्ण सांसद मित्रलाई हार्दिक अपिल गरिन्छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्