नेभिगेशन
अन्य

संसदमा ३८ औं प्रधानमन्त्रीका लागि चुनाव आज

काठमाडौं । व्यवस्थापिका–संसदले बहुमतीय प्रक्रियाद्वारा ३८ औं प्रधानमन्त्री आज चयन गर्दैछ। आइतबार बिहान ११ बजे डाकिएको संसद बैठकले नयाँ प्रधानमन्त्री निर्वाचन गर्नेछ। प्रधानमन्त्रीका लागि संसदको पहिलो र दोस्रो ठूलो दल कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। शनिबार दिउँसो व्यवस्थापिका–संसद भवन, नयाँ बानेश्वर पुगेर दुवै नेताले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि कोइरालाले जसले जिते पनि सहमतिका आधारमा अघि बढ्ने बताए । कांग्रेस र एमालेको छुट्टाछुट्टै निर्णयपछि दुवैको उम्मेदवारी परेको कोइरालाको भनाइ थियो। ‘नेपाली कांग्रेसको निर्णयअनुसार मैले उम्मेदवारी दिएको हुँकोइरालाले उम्मेदवारी दर्तापछि संवाददातासँग भने, उहाँले जित्नुभयो भने मैले कोअपरेट गर्नुपर्छ, मैले जितेँ भने पनि उहाँले सहयोग गर्नुपर्यो।’ अबको बाटो मेलमिलाप र सहकार्यकै भएको उनले दाबी गरे। ‘मेलमिलापको नीति, सहमति, सहकार्य र एकता हुनैपर्छ,’ उनले भने, ‘उहाँहरुको पनि पार्टीले निर्णय गर्यो। हाम्रो पनि पार्टीले निर्णय गर्यो। यो प्रजातान्त्रिक मूल्य र मान्यता पनि हो। यो कुनै अनौठो कुरा भएको छैन। काम गर्नलाई कसैले रोक्दैन। एक–अर्कालाई सहयोग र सहमति गरेरै जाने हो।’ एमाले अध्यक्ष ओलीले विगतमा भएको सहमतिका आधारमा आफूले उम्मेदवारी दिएकाले कांग्रेसले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे। आइतबार हुने मतदानमा संसदमा तत्काल कायम रहेको संख्याको बहुमत ल्याउनुपर्नेछ। अहिले व्यवस्थापिका संसदमा जम्मा ५ सय ९८ सांसद छन्। प्रधानमन्त्री चुनिनका लागि कम्तीमा ३ सय मत प्राप्त गर्नुपर्नेछ। व्यवस्थापिका संसदमा हुने मतदानमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत कायम हुन नसके पुनः निर्वाचनका लागि अर्को मिति तोकिन्छ। तीनपटकसम्म पनि निर्वाचित हुन नसके पुनः प्रक्रिया सुरु गर्नुपर्ने नियमावलीमा व्यवस्था छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्