नेभिगेशन
अन्य

नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन आइतवार ११ वजे

काठमाडौं । राष्ट्रपति डा रामबरण यादवले सहमतिको सरकार गठनका लागि दिएको एकसाताको समयमा दलहरुका बीचमा सहमति हुन नसकेपछि आजबाट नयाँ प्रधानमन्त्री चयनका लागि बहुमतिय प्रक्रिया सुरु भएको छ । राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अगाडि बढाउन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा २०७२ साल असोज १५ गते शुक्रबारको समयावधि भित्रमा राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेकाले नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम सो प्रक्रिया अगाडि बढाउन भनिएको छ । राष्ट्रपति डा यादवले नेपालको संविधानको धारा, २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि संसदमा प्रतिनिधत्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेका थिए । यो संगै व्यवस्थापिका संसदले नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन तालिका बनाएको छ । जस अनुसार असोज २४ गते ११ बजे मतदान हुने भएको छ । संसद सचिवालयका अनुसार भोलि शनिबार उम्मेदवारी मनोनयन, नामावली प्रकाशनलगायतका प्रक्रिया पूरा गर्ने गरी निर्वाचन कार्यक्रम तय गरिएको छ । ५ सय ९८ सदस्य रहेको सदनबाट प्रधानमन्त्री पदमा निर्वाचित हुन कम्तीमा २ सय ९९ मत आवश्यक पर्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्