नेभिगेशन
अन्य

जुटेन सरकारमा सहमति

काठमाडौं । राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा सकिएको छ। राष्ट्रपतिले दिएको समयसीमा बिहीबार राति नै सकिएको हो। सहमतिको समयसीमा सकिएपछि सरकार गठन प्रक्रिया अब बहुमतीय आधारमा अघि बढ्नेछ। अब आज दिउँसो बस्ने व्यवस्थापिका संसदको बैठकले बहुमतीय प्रक्रिया अघि बढाउनेछ। त्यसअघि राष्ट्रपति कार्यालयबाट सहमतिका आधारमा प्रधानमन्त्री चयन हुन नसकेकाले नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतीय प्रक्रिया अघि बढाउन संसदलाई पत्र आउनुपर्नेछ। व्यवस्थापिका संसद त्यही पत्रको प्रतीक्षामा छ। ‘सहमतीय प्रक्रियामा प्रधानमन्त्री चयनको समय टुंगिएपछि राष्ट्रपतिबाट सहमतिका आधारमा चयन भएको प्रधानमन्त्रीको नाम र सहमति कायम नभए संविधानअनुसार बहुमतीय प्रक्रिया अघि बढाउन पत्र प्राप्त हुनेछ,’ सभामुख सुवास नेम्वाङले भने। उनका अनुसार सहमति कायम हुन नसके राष्ट्रपति कार्यालयबाट शुक्रबार संसदको बैठक बस्नुअगावै पत्र प्राप्त हुनेछ। ‘सहमतिका आधारमा प्रधानमन्त्री चयन हुन नसके अब संविधानअनुसार बहुमतीय प्रक्रियामा जाऊँ भन्ने पत्र आउँछ,’ नेम्वाङले भने,‘यो संविधान, नियम र अभ्यासको कुरा पनि हो। शुक्रबार बिहानसम्म सधैंको प्रचलनअनुसार राष्ट्रपतिबाट पत्र प्राप्त हुन्छ भन्ने आधार र विश्वास लिएको छु। सचिवालय राष्ट्रपतिको पत्र पर्खिरहेको छ।’ असोज १५ गते राष्ट्रपति डा. यादवले राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गरेका थिए। संसदमा रहेका राजनीतिक दलको सहमतिमा प्रधानमन्त्री चयन हुन नकसेपछि अब बहुमतीय प्रक्रिया अघि बढ्नेछ। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्