नेभिगेशन
अन्य

विमान चार्टर गरेर कलकत्ताबाट हवाई इन्धन ल्याइयो

काठमाडौं । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण हवाई इन्धन अभाव हुँदै गएपछि नेपाल वायुसेवा निगमको बोइङ ७५७ जहाजले बिहीबार पहिलोपटक कलकताबाट ६६ टन हवाई इन्धन ल्याएको छ । निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारका अनुसार, बिहीबार निगमको बोइङ ७५७ विमानले भारतको कलकत्ताबाट दुईपटक गरी ६६ टन हवाई इन्धन ल्याएको हो । जहाजबाट ल्याएको हवाई इन्धन नेपाल आयल निगमको स्टोरेज ट्याङ्कीमा जम्मा गरिने छ । ‘अहिले हामीले किनेको हवाई इन्धन निगमका जहाजका लागि हो, अरुलाई आवश्यक परे पनि दिने छौं,’ महाप्रबन्धक कंसाकारले भने । विमानस्थलमा रहेको आयल निगमको डिपो प्रमुख प्रदीप यादवका अनुसार, बोइङले कलकत्ताबाट ल्याएको हवाई इन्धन विमानस्थलमै रहेको निगमको भूमीगत ट्यांकीमा राखिने छ । ‘हामीले डिफ्यूलिङ्ग गरेर राखिदिन्छौं, आवश्यक पर्दा उसैकै विमानमा हालिदिने छौं,’ डिपो प्रमुख यादवले भने । हाल निगमका दुइटा बोइङ छन् । यी मध्ये नाइनएन–अल्फा–चार्ली–ब्राभो ९जस्को नेपाली नाम गण्डकी हो० ले आज हवाई इन्धन ल्याएको हो । निगमले यो विमान इन्धन ल्याउन सजिलो हुने बताएको छ । काठमाडौं(कलकत्ता उडान समय ४५ मिनेटको हो । ४० हजार लिटरसम्म इन्धन राख्ने क्षमता भएको यो विमानले १५ हजार लिटर आफ्नोलागि राखेर बाँकी डिफ्युलिङ्ग गरिरहेको छ । निगमले आफ्ना उडानहरु नियमित राख्नुका साथै दसैंको उपलक्ष्यमा धेरै यात्रुहरुलाई सेवा दिन कलकत्ताबाट चार्टर उडान गरी हवाई इन्धन ल्याउनु परेको जनाएको छ । ‘दसैंको अवसरमा श्रम गन्तव्यबाट धेरै यात्रु आउने भएकाले बढी यात्रु ल्याउन चार्टर गरी हवाई इन्धन ल्याइएको हो,’ निगमले भनेको छ । नेपाल वायु सेवा निगमले परिस्थिति र आवश्यकता अनुसार चार्टर उडानहरु गर्दै जाने भनेको छ । यसअघि काठमाडौं आउने विमानमा अर्को गन्तव्य जान पुग्ने हवाई इन्धन ल्याउनु पर्दा कम संख्यामा यात्रु ल्याउन सकिन्थ्यो । तर अब चार्टर गरी ल्याएको हवाई इन्धनले सहयोग पुग्ने हुदा बढी संख्यामा यात्रु ल्याउन सकिने निगमले जनाएको छ । बिहीबार ल्याइएको इन्धन नेपाल वायु सेवा निगमले खरिद गरेर ल्याएको हो । यता आयल निगमले पनि आवश्यक परे निगमको बोइङमार्फत इन्धन ल्याउने भनेको छ । कलकत्ताबाट ल्याइएको इन्धन नेपाली बजारको दाजोमा सस्तो छ । यता १ हजार लिटरलाई १३ सय २५ अमेरिकी डलर पर्छ भने कलकतामा ८ सय डलर पर्ने डिपो प्रमुख यादवले बताए । यसैबीच आयल निगमले आन्तरिक विमानहरुका लागि अझै १५ दिन पुग्ने इन्धन रहेको बताएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्