नेभिगेशन
अन्य

भाषा परीक्षामा करिब साढे आठ हजार परीक्षार्थी उत्तीर्ण

काठमाडौं । दक्षिण कोरिया जानका लागि लिइएको छैटौं इपिएस भाषा परीक्षामा आठ हजार ४९० जना परीक्षार्थी उत्तीर्ण भएका छन् । नेपाल सरकार र कोरिया सरकारबीच भएको सम्झौताअनुसार नेपाली कामदारलाई रोजगारीका लागि कोरिया लैजान लिइने प्रारम्भिक भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रतर्फ पाँच हजार आठ सय १७ र कृषि तथा पशुपालनतर्फ दुई हजार ६७३ जना परीक्षार्थी उत्तीर्ण भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षा उत्तीर्ण भएका सबै व्यक्तिले सीप परीक्षण परीक्षामा सहभागी हुन पाउने छन् । भाषा परीक्षा उत्तीर्ण व्यक्तिको स्वास्थ्य परीक्षण, रोजगार आवेदन फाराम तथा सीप परीक्षणलगायत कार्यहरु मङ्सिर महिनाको पहिलो हप्तादेखि सञ्चालन हुने र यससम्बन्धी विस्तृत विवरण छिटै प्रकाशित गरिने शाखाले जनाएको छ । उत्तीर्ण हुनेले रोजगार आवेदन फारम भर्नका लागि अनिवार्य रुपमा मेसिनले पढ्न सक्ने राहदानी एमआरपी पेस गर्नुपर्ने, प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षणमा सफल भएका व्यक्तिले मात्र रोजगार आवेदन फारम भर्र्न सक्ने शाखाले जनाएको छ । उत्तीर्ण भएका व्यक्तिहरुको विवरण इपिएस कोरिया शाखाको वेभसाइट कार्यालयको सूचनापाटी, वैदेशिक रोजगार विभागको वेभसाइट धधध।मयाभ।नयख।लउ, कोरियाको मानव संसाधन विभागको वेभसाइट बाटसमेत हेर्न सकिने शाखाले जनाएको छ । गत असोज २ र ३ गते भएको भाषा परीक्षामा ५२ हजार १३७ जनाले आवेदन भरेकामा ४३ हजार ४०६ जना परीक्षर्थीले परीक्षा दिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्