नेभिगेशन
अन्य

सरकारका बारेमा बालुवाटारमा सर्वदलीय छलफल

काठमाडौं । सहमतीय सरकार गठनका लागि छलफल गर्न सोमबार बिहान व्यवस्थापिका–संसद् प्रतिनिधित्व गरेका सबै दलको सहभागितामा सर्वदलीय बैठक बस्ने भएको छ। राष्ट्रपति डा रामवरण यादवले सहमतीय सरकार गठनका लागि दललाई आह्वान गरेकाले छलफल गर्न बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने प्रधानमन्त्री सुशील कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए। सर्वदलीय बैठक बस्नुअघि प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको बैठक बस्ने सम्भावना रहेको बताइएको छ। राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९८ को उपधारा २ बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्नगरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई गत शुक्रबार आह्वान गरेका थिए। राष्ट्रपतिको आह्वानसँगै राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलले विभिन्न तहमा छलफल चलाइरहेका छन्। ती दलले आन्तरिक र बहुपक्षीय छलफललाई तीव्रता दिएका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्