नेभिगेशन
अन्य

मोर्चाद्वारा वार्ता समिति गठन

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आइतबार बसेको बैठकले सरकारसँग आधिकारिक वार्ता गर्न चार सदस्यीय वार्ताटोली गठन गरेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले जारी आन्दोलनको समीक्षा गर्दै वार्ता र संघर्षलाई एकसाथ अघि बढाउने उद्देश्यका साथ चार सदस्यीय वार्ताटोली गठन गरेको हो। सद्भावना पार्टीका महामन्त्री एवं आन्दोलन परिचालन चार सदस्यीय कार्यदलका सदस्य मनीषकुमार सुमनले दिएको जानकारीअनुसार सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तराईमधेस लोकतान्त्रिक पार्टीका महासचिव सर्वेन्द्रनाथ शुक्ल, फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत र तराईमधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश राय रहेको वार्ताटोलीले सरकार, संसद् र संसद्बाहिर रहेका दलहरूसँग समेत वार्ता गर्ने भएको छ। मोर्चाले आमहडताल, नाकाबन्दीलगायतका मधेस तराईमा रहेको आन्दोलन जारी नै राख्ने निर्णयसमेत गरेको छ। बैठकमा फोरम नेपालका अध्यक्ष यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, तमसपाका अध्यक्ष महेन्द्रराय यादव सहभागी थिए। यसैबीच प्रमुख तीन दलको वार्ताटोली र आन्दोलनरत संघीय लोकतान्त्रिक मधेसी मोर्चाबीच आइतबारको वार्ता सकारात्मक भएको छ । वार्ताटोलीका सदस्य एवं वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले छलफल राम्रो भएको र राजनीतिक कार्यसूचीलाई सबैका लागि कसरी स्वीकार्य हुन सक्छ भन्नेमा दुवै पक्ष पुगेको बताए। वार्ताको वातावरण बनाउन सरकारले गरेका विभिन्न निर्णय तल्लो स्तरसम्म कार्यान्वयन गर्न देखिएका प्रशासनिक ढिलाइलाई सरकारले तत्काल सम्बोधन गर्ने विषयमा मोर्चालाई आश्वस्त पारेको जानकारी मन्त्री आचार्यले दिए। दुवै पक्ष मुलुकको वर्तमान समस्या चाँडै सम्बोधन गर्नुपर्छ भन्नेमा सहमत भएको पनि उनले बताए। मोर्चाले अघि सरेको कतिपय माग संविधान संशोधन तथा राजनीतिक तहमा छलफल गरेर टुंगोमा पुर्याउनुपर्ने वार्ता टोलीका अर्का सदस्य एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेलले बताए । मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवले छलफल सौहाद्र्र वातावरणमा विषयवस्तुमाथि केन्द्रित भएको बताए। ‘मुलुकको समसामयिक विषयमा सकारात्मक कुराकानी भएको र चाँडोभन्दा चाँडो निष्कर्षमा पुग्नुपर्नेमा दुवै पक्षबीच सहमति भएको छ,’ उनले भने । सीमांकनमा नमिलेका विषयमा समेत मोर्चाले सरकारलाई ठोस प्रस्ताव ल्याउन सुझाएको देवले बताए । मोर्चाले समानुपातिक समावेशी प्रतिनिधित्व, निर्वाचन क्षेत्र निर्धारण पुनरावकलोकन, नागरिकतालगायतका विषयमा पनि सत्तापक्षलाई सोमबारसम्ममा सुझाव ल्याउन र त्यसमा छलफल गरेर टंगोमा पुग्न आग्रह गरेको देवले बताए । छलफलमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव सहभागी थिए। अन्नपुर्ण दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्