नेभिगेशन
अन्य

सरकार बनाउन राष्ट्रपतिले समय दिएपनि घनीभूत छलफल भएन

काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले सहमतीय सरकारका लागि शुक्रबार सात दिनको समय दिए पनि दलहरूले त्यसतर्फ घनीभूत छलफल सुरु गरेका छैनन् । एकातिर मधेसवादी दलहरू आन्दोलनमा रहेको र अर्कातिर प्रमुख तीन दलबीच नै सहमतिको सम्भावना क्षीण भएका कारण नेताहरू सहमतिको सात दिनको समय कटाएर बहुमतको सरकार निर्माणको प्रक्रिया सुरु भएपछि बल्ल छलफललाई तीव्रता दिने मुडमा छन् । यसअघि कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउँदा भएको सातबुँदे र २५ जेठमा १६ बुँदे सहमति गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँँ सरकार बनाउने ‘भद्र सहमति’ भए पनि ओली आफैँले आफ्नो नाममा सहमतिका लागि औपचारिक रूपमा कुनै पहल गरेका छैनन् । एमाले भ्रातृ संगठन युवासंघको केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले राष्ट्रिय सरकारको सम्भावना नरहेको बताए । वेटिङ प्रधानमन्त्रीका रूपमा हेरिएका ओली स्वयंले सहमतिमा सरकार नबन्ने र बहुमतीय प्रक्रियाबाट भए पनि चाँडै नयाँ सरकार गठन हुने बताउनुले राष्ट्रिय सहमतिको गुन्जायस नरहेको प्रस्ट हुन्छ । तर, एमालेकै उपमहासचिव विष्णु पौडेलले भने कांग्रेससँग मिलेर सरकार बनाउँदादेखि नै सहमतिको प्रयास भइरहेको बताए । राष्ट्रिय सहमति भनेर पाँच सय ९८ कै सहमति नहुन सक्छ, तर एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने कुरामा कांग्रेस, एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक यसअघि नै सहमत भइसकेको पौडेलले दाबी गरे । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्