नेभिगेशन
अन्य

बहुमतीय प्रक्रियाबाट सरकार बनाउने प्रयास, कांग्रेस–एमालेबीच प्रधानमन्त्रीका लागि खिचातानी

काठमाडौं । राष्ट्रपति रामवरण यादवले एक साताको समय दिएर राष्ट्रिय सहमतिको सरकारका लागि आहवान गरे पनि प्रमुख राजनीतिक दलका नेताहरू बहुमतीय प्रक्रियाबाट अधिकतम सहमति खोज्ने प्रयासमा लागेका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दलको समर्थनमा प्रधानमन्त्री चयन असम्भव भएको जनाउँदै नेताहरूले बहुमतीय प्रक्रियाबाटै अधिकतम सहमति खोज्ने बताएका हुन् । सहमतीय सरकार बनाउन संसदमा प्रतिनिधित्व गर्ने ३१ दलकै समर्थन प्राप्त गनुपर्छ । शनिबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा एमाले अध्यक्ष केपी ओली र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले सबैको समर्थनमा सहमतीय सरकार बन्न नसक्ने भन्दै बहुमतीय प्रक्रियाबाटै अधिकतम सहमति खोज्ने प्रयास गरिने बताएका छन् । ओलीले युवा संघको केन्द्रीय समितिको बैठकमा र देउवाले तरुण दलको कार्यक्रममा बहुमतीय प्रक्रियामा प्रवेश गरेपछि सरकारको विषयमा ठोस छलफल हुने बताएका हुन् । कसको नेतृत्वमा सहमतीय सरकारका लागि पहल गर्ने भन्नेमा पनि दलहरूबीच अन्योल छ । एमाओवादीले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री स्विकार्ने जनाउ दिए पनि कांग्रेस तयार देखिएको छैन । कांग्रेस एक उच्च स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालामा फेरि सरकारको नेतृत्व लिने चाहना प्रकट भएको छ । केही दिनअघिसम्म कोइराला प्रधानमन्त्रीबाट राजीनामा दिने मनस्थितिमा थिए । ‘राजीनामा नदिईकन सरकार निर्माणको प्रक्रिया मात्रै अघि बढाउन राष्ट्रपतिलाई भन्न जानुको अर्थ कोइरालाको फेरि प्रधानमन्त्री हुने चाहना हो,’ स्रोतले भन्यो, ‘कोइरालाको आफू हुन नसके वरिष्ठ नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री हुन नदिने रणनीति पनि हुन सक्छ ।’ देउवाले शनिबारकै कार्यक्रममा भद्र सहमति बारे आफूलाई थाहा नभएको दाबी गर्दै प्रस्ट नभने पनि आफू पनि प्रधानमन्त्रीको आकांक्षी भएको संकेत गरेका छन् । कोइरालाले राजीनामा नदिएको प्रति एमालेभित्र मात्रै नभएर कांग्रेसभित्रै पनि असन्तुष्टि छ । वरिष्ठ नेता शेरवहादुर देउवापक्षीय नेताहरूले कोइरालाले राजीनामा नदिएकामा असन्तुष्टि जनाएका छन् । ‘कोइरालाका नजिकका मान्छेहरूले फेरि तपाईं नै प्रधानमन्त्री हुने हो भन्दिएका छन् । एमाले अध्यक्ष केपी ओलीले शनिबारै काभ्रेमा आयोजित कार्यक्रममा आफूलाई प्रधानमन्त्री हुन नदिने प्रयास भइरहेको सार्वजनिक गरेका छन् । बाह्य तथा घरेलु शक्तिबाटै त्यस्तो प्रयास भएको ओलीको संकेत थियो । ओलीका विकल्पमा कांग्रेसभित्रबाट देउवाको नाम चर्चामा छ । देउवाले कांग्रेसमा संसदीय दलका नेताको निर्वाचन गराउन माग गर्ने सम्भावना देखेरै कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा नगरेको र आफैं अघि बढ्न खोजेको हुन सक्ने अनुमान देउवा पक्षले लगाएको छ । एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सरकारका लागि केही खिचातानी सुरु भएको स्वीकार्दै संविधान निर्माणमा सहकार्य गरेका दलहरू मिल्न नसके मुलुक दुर्घटनामा पर्न सक्ने बताए । उनले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री स्वीकार गरेर अघि बढ्नु कांग्रेसका लागि पनि उत्तम हुने बताए । ‘डेढ वर्षअघि ७ बुँदे समझदारी गर्दा नै कांग्रेसले संविधान जारीपछि एमाले नेतृत्वमा सरकार बनाउन सघाउने सहमति गरेको छ, १६ बुँदे सहमति हुँदा पनि प्रमुख दलहरू मिलेर संयुक्त सरकार बनाउने कुरा भएको हो,’ पोखरेलले भने, ‘कांग्रेस या एमाले एउटा प्रतिपक्षमा बस्ने कुरा जसरी आइरहेको छ, यसले मुलुकलाई दुर्घटनातर्फ लैजान्छ ।’ उनले प्रमुख दलहरूबीच सहमति नहुँदा संविधान कार्यान्वयन, सयभन्दा बढी कानुन बनाउनुपर्ने अवस्था तथा संविधान संशोधन गर्ने विषयमा कठिनाइ हुने बताउँदै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख सबैमा प्याकेजमा सहमति हुनुपर्ने बताए । ‘अहिलेको सम्पूर्ण प्रक्रिया विफल गर्ने दिशामा जाने काम कांग्रेस र एमालेबाट नहोस्,’ उनले भने, ‘कुन प्रतिपक्षमा बस्ने भन्दा पनि प्रमुख दलहरू मिलेर संयुक्त सरकार बनाउनुपर्छ ।’ कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खडकाले प्रमुख दलका शीर्ष नेतृत्वबीच भएको भद्र सहमितबारे पार्टीमा जानकारी नभएको बताए । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्