नेभिगेशन
अन्य

कांग्रेस केन्द्रीय समिति बोलाउन कोइरालालाई दबाब

काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई पार्टी केन्द्रीय समितिको बैठक बोलाउन दबाब परेको छ। संविधानसभाबाट नयाँ संविधान जारी भएको झन्डै दुई साता बित्न लाग्दासमेत केन्द्रीय समिति र संसदीय दलको बैठक नबोलाएपछि केन्द्रीय सदस्यले प्रधानमन्त्रीसमेत रहेका सभापति कोइरालालाई दबाब दिन थालेका हुन्। केन्द्रीय सदस्यले मुलुकको विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्। सहमहामन्त्री पूर्णबहादुर खड्काले संविधानसभाबाट नयाँ संविधान जारी भएपछि उत्पन्न परिस्थितिका विषयमा केन्द्रीय समिति र संसदीय दलको बैठक नबोलाएकोमा असन्तुष्टि जनाए। ‘मुलुक गम्भीर अवस्थामा पुग्दासमेत अहिलेसम्म केन्द्रीय समिति नबोलाएकोमा आश्चर्यमा परेको छु,’ खड्काले भने, ‘तत्काल केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएर पार्टीले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुपर्छ।’ संविधानसभाबाट जारी संविधान कार्यान्वयनमा पार्टीले लिने नीति, संविधानप्रति असन्तुष्ट पक्षसँगको वार्ता र संवादका साथै आन्दोलन र नाकाबन्दीका कारण मुलुकमा उत्पन्न परिस्थितिका विषयमा छलफल आवश्यक रहेको खड्काले बताए। ‘देशभरि खाद्यान्न हाहाकार छ, संविधान जारी भएपछि पार्टी कसरी जाने भन्नेसम्म छलफल भएको छैन,’ खड्काले भने, ‘शुक्रबारदेखि संसदको बैठक सुरु हुँदै छ, त्यहाँ कसरी प्रस्तुत हुने भन्नेसम्म छलफल छैन।’ नयाँ संविधानको व्यवस्थाअनुसार पार्टीको १३औँ महाधिवेशन गर्न थप ६ महिना पाएको कांग्रेसले त्यस विषयमा पनि कुनै छलफल गरेको छैन। ‘महाधिवेशनको विषयमा अनिश्चिय कायमै छ, त्यसलाई चिर्न पनि बैठक आवश्यक छ,’ उनले भने। त्यस्तै, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, शेखर कोइरालालगायत नेताले बैठक बोलाउन दबाब थालेका छन्। उनीहरुले बुधबार केसीनिवास गोंगबुमा दर्जन बढी केन्द्रीय सदस्यको भेलाले बैठक तत्काल बोलाउन माग गर्ने सहमति गरेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्