नेभिगेशन
अन्य

सरकारसँग वार्ता गर्ने मधेसी मोर्चाको निर्णय

काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग वार्तामा बस्ने नीतिगत निर्णय गरेको छ। मोर्चाको गौर बुधबार बसेको बैठकले सरकारसँग वार्तामा बस्ने नीतिगत निर्णय गरेको मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए। बिहीबार मोर्चाकातर्फबाट ठाकुरले तीन दलका नेतासँग छलफल गर्ने, शीर्ष नेताहरुले विगतमा भएका सम्झौता कार्यान्वयन गर्ने राजनीतिक प्रतिबद्धतासहितको वार्ताका लागि औपचारिक पत्र पठाएपछि मोर्चाले औपचारिक रुपमा वार्ता टोली गठन गर्ने ठाकुरले जानकारी दिए । ‘सरकासँग वार्तामा बस्ने नीतिगत निर्णय भएको छ,’ ठाकुरले भने, ‘त्यसका लागि भोली मैले तीन दलका नेतासँग छलफल गर्ने र सरकारकोतर्फबाट विगतमा भएका सहमति कार्यान्वयन गर्ने राजनीतिक प्रतिबद्धतासहितको औपचारिक पत्र आएपछि मोर्चाले औपचारिक रुपमा वार्ता टोली गठन गर्ने छ।’ प्रमुख तीन दलले आन्दोलनरत पक्षसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेपछि मोर्चासँग पटक पटक अनौपचारिक छलफल भएको थियो। मंगलबारपनि मोर्चाका नेता ठाकुर र तीन दलीय वार्ता टोलीबीच अनौपचारिक छलफल भएको थियो। तीन दलीय वार्ता टोलीसँग भएको छलफलबारे मोचाका अन्य नेतालाई जानकारी गराउन ठाकुर मंगलबार नै गैर गएका थिए। संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टीका अध्यक्षलाई बुधबारको बैठकमा ठाकुरले छलफलबारे जानकारी गराएका थिए। मोर्चाले वार्ताका पूर्वशर्तको रुपमा नेपाली सेना, सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने, आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, आन्दोलनकारी माथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने माग राखेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्