नेभिगेशन
अन्य

‘नाकाबन्दी’बारे रञ्जित रेसँग सोधिने

काठमाडौं । सरकारले सीमा क्षेत्रमा भएका अवरोध नाकाबन्दी अघोषितबारे नेपालका लागि भारतीय राजदूत रञ्जित रेसँग प्रष्टीकरण लिने भएको छ। प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस एमाले र एमाओवादीका शीर्ष नेताको बिहीबारको बैठकले सीमा क्षेत्रमा आन्दोलनकारीका तर्फबाट अवरोध नआएपनि भारतबाटै सवारी साधन नआएको भन्दै सरकारले भारतीय राजदूत रेसँग जानकारी लिने निर्णय गरेको छ। तीन दलीय सहमतिका आधारमा सरकारले शुक्रबारै राजदूत रेलाई परराष्ट्र मन्त्रालयमा बोलाएर त्यसबारे सोध्ने तयारी गरेको छ। कार्यबाहक परराष्ट्रमन्त्री र निमित्त परराष्ट्र सचिवले राजदूतसँग सवारी आवागमनमा आएको कमीबारे जानकारी लिनेछन्। ‘आन्दोलनकारीले सीमा क्षेत्रमा चक्काजाम गर्ने, अनि भारतबाटै गाडी कम आउँदा उताबाट छिर्न नदिएको जस्तो देखियो, त्यसले भारतले नाकाबन्दी गरेजस्तो भयो’, बैठकमा सहभागी एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘यस विषयमा के हो त भनेर शुक्रबार भारतीय राजदूतलाई परराष्ट्रमा बोलाएर जानकारी लिने कुरा भएको छ।’ कार्यबाहक परराष्ट्रमन्त्री र निमित्त सचिवले भारतबाट सवारीसाधन किन आइरहेका छैनन् भन्ने जानकारी लिनुका साथै यसरी बन्द गर्नुभएन भनेर अनुरोध गर्ने निर्णय भएको बैठकमा सहभागी अर्का एक नेताले जानकारी दिए। एमाले उपाध्यक्ष विद्या भण्डारीले सीमा नाकामा मधेसी मोर्चाले बन्द गर्न खोजे पनि भारततर्फबाटै गाडी नआएको बताउँदै तीनदलीय बैठकपछि भनिन्, ‘के भएर गाडी आएनन् त्यसको जानकारी लिनुको साथै अनुगमन गर्ने कुरा भएको छ।’ नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्