नेभिगेशन
अन्य

सीमा र राजमार्गमा नाकाबन्दी गरेर आन्दोलन चर्काउने मधेशी मोर्चाको निर्णय

काठमाडों । तराईमा आन्दोलनरत संयुक्त मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ। मंगलबार राति ८ बजेदेखि सप्तरीको राजविराजमा भएको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा सहभागी नेताका अनुसार आन्दोलनलाई मजबुत पार्न विभिन्न निर्णय गरिएको छ। यातायात बन्दलाई निरन्तरता दिएर बजार तथा पसल खुल्ला राख्ने निर्णय मोर्चाले गरेको छ। आन्दोलनको स्वरुप परिवर्तन गरेर मोर्चाले अब बैंक तथा वित्तीय संस्थालाई निशाना बनाउने भएको छ। भारतीय पक्षबाट भएको भनिएको ‘नाकाबन्दी’लाई प्रभावकारी बनाउन पहल गर्ने निर्णय पनि मोर्चाले गरेको छ। ‘हामी बैठकको फाइनल चरणमा छौं,’ बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले भने, ‘तराईको आन्दोलन निरन्तर चलिरहन्छ, यसलाई थप मजबुत पार्न तराईमा आन्दोलनरत अन्य पार्टी तथा संघ–संस्थासँग संवाद गर्ने र कार्यदल बनाउने निर्णय गरेका छौं।’ यद्यपी, कार्यदल भने बनिसकेको छैन। बैठकले भारतबाट नेपाल छिर्ने सवारीसाधन रोक्ने निर्णय गरेको छ। ‘भारतबाट छिर्ने कुनै पनि सामान नेपाल छिर्न नदिने निर्णय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘सिमा क्षेत्रमा नाकाबन्दी गरेर सम्पूर्ण आर्थिक कारोबार ठप्प पार्ने निर्णय भएको छ।’ मोर्चाको बैठक केही ढिलोगरी सुरू भएको थियो। मोर्चाले अहिले पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गर्दैछ। बैठकमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष रेणु यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष त्रिपाठी, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलगायत नेताहरू सहभागी थिए। संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अनिरुद्धप्रसाद सिंहको राजविराज–१ स्थित घरमा मंगलबार राति ८ बजे सुरू भएको बैठक राति दुई बजेसम्म चलेको थियो । बैठक पुनः बुधबार विहान ८ बजेबाट सुरू भएको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्