नेभिगेशन
अन्य

संविधानमा हस्ताक्षर गर्ने कलम कहाँ राख्ने ?

काठमाडौं । राष्ट्रपति रामवरण यादवले आइतबार साँझ नेपालको संविधानको प्रत्येक प्रति ढोगेर हस्ताक्षर गर्दै नेपालको निशान छाप लगाए। त्यसपछि उनले संविधान जारी भएको घोषणा गरे। नेपालको ६५ वर्ष पुरानो चाहना साकार हुँदै गरेको दृश्य चासोका साथ लाखौं नेपालीले प्रत्यक्ष प्रसारणमार्फत हेरे। त्यो नेपालीका लागि एक जुगमा एक दिन आएको बहुप्रतीक्षित क्षण थियो। यस्तो ऐतिहासिक अवसरमा राष्ट्रपतिले संविधानमा हस्ताक्षर गर्न प्रयोग गरेको कलम र छापमा भने उति ध्यान गएन। विश्वका विभिन्न देशमा यस्ता विषय महत्वपूर्ण हुने गर्दछ। राष्ट्रपति यादवले हतारमा काम सकेपछि कलम र छाप टेबलमै छाडिएको त्यहाँ हुनेलाई पनि पत्तो भएन। सोमबार बिहान भने राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई फोन र म्यासेज गरेरै कलम र निशान छाप राष्ट्रपति कार्यालयमा पठाइदिन आग्रह गरे। संविधानको प्रतिमा हस्ताक्षर गर्न राष्ट्रपतिलाई सघाएका भट्टराईले त्यसबेला उक्त कलम टेबलमै छाडेका थिए। ‘हस्ताक्षर गरेको कलम उठाएर यताउता गर्न मिल्दैन भनेर उहाँ ९बस्नेत० ले त्यसलाई सोही टेबलमै रहन दिनुभयो,’ संविधानसभा सचिवालय स्रोतले भन्यो,‘बिहानै संविधानसभा भवनमा पुगेर कलम र निशान छाप ल्याई सिंहदरबार सचिवालयमा राखिएको छ।’ स्रोतका अनुसार संविधानसभा सचिवालयले संविधानको ऐतिहासिक प्रतिमा हस्ताक्षर गरिएको कलम र निशान छाप सचिवालयमै राख्न चाहेको छ। ‘राष्ट्रपति कार्यालयबाट कलम र छापका बारेमा चासो देखाइएको हो,’ संविधानसभा सचिवालय स्रोतले भन्यो, ‘तर निशान छाप र कलम संविधानसभा सचिवालयमै राख्दा बढी महत्व हुने ठानेका छौं।’ कहाँ राख्ने भन्ने अहिलेसम्म कुनै निर्णय नभएको स्रोतको दाबी छ। तर संविधानका पाँच प्रति कहाँ राख्ने भन्ने बारेमा भने नियमावलीमै उल्लेख गरिएको छ। ती पाँच प्रति संविधानसभा सचिवालय, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानुन मन्त्रालय र राष्ट्रिय अभिलेखालयमा राखिनेछ। नागरिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्