नेभिगेशन
अन्य

प्रधानमन्त्रीले न्युयोर्कमा दुवै छिमेकीसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघीय महासभाको साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति बाराक ओबामासहित झन्डै दुई दर्जन नेताहरूसँग छुट्टाछुट्टै संक्षिप्त भेट गर्नेभएका छन्। ती भेटवार्ताको तयारी भइरहेको जानकारी परराष्ट्र मन्त्रालय उच्च स्रोतले दिएका छन्। स्रोतका अनुसार संविधान जारी भएलगत्तै दुई साताका लागि अमेरिका जान लागेका प्रधानमन्त्रीले महासभाको सम्बोधनमा संविधान जारी प्रक्रिया, नेपालले पाएको ऐतिहासिक सफलता र छिमेकी तथा मित्र मुलुकको समर्थन र सहयोगको प्रशंसा गर्नेछन्। उनले केही असन्तुष्ट पक्षलाई समेत समेटेर शान्ति र विकासमा अघि बढ्ने प्रयास भइरहेको जानकारीसमेत दिनेछन्। प्रधानमन्त्रीले असोज १४ मा महासभामा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले त्यसअघि नै सबै छिमेकी र अन्य मित्र मुलुकका नेताहरूसँग भेट गर्ने कार्यक्रम बनेको परराष्ट्रका अधिकारीहरूले बताए। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले भने, ‘ऐतिहासिक उपलब्धिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिन र शुभेच्छा लिनका लागि पनि जान आवश्यक थियो भने राष्ट्रसंघको महासभामा अन्य बैठकहरूसमेत निकै महत्त्वपूर्ण छन्।’ उनी १८ सदस्यीय सरकारी र केही आफ्नै खर्चमा जाने नेपाली टोलीको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन्। आन्दोलनरत दलका मागलाई सम्बोधन गर्न सरकार सधैं प्रयासरत रहेको र लोकतान्त्रिक विधिबाट संविधान जारी गरेको सन्देश उनले भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिलाई दिनेछन्। राष्ट्रसंघका महासचिव बान की मुन र अमेरिकी राष्ट्रपतिलाई पनि पछिल्लो सफलता सुनाउनेछन्। नेपालको परराष्ट्र नीति दुई छिमेकबाट आरम्भ हुने जानकारी बारम्बार दिँदै आएका प्रधानमन्त्री कोइरालाले भारतले संविधानको स्वागत नगरेकामा नेपाल दुस्खी बनेको विषय मोदीसमक्ष राष्ट्रसंघमा पोख्ने उनी निकट स्रोतले बताएको छ। असोज ८ देखि तीन दिनसम्म चल्ने राष्ट्रसंघको दिगो विकास सम्मेलनमा सहभागी हुन भ्याउने गरी प्रधानमन्त्री जान लागेका हुन्। त्यसलगत्तै असोज ११ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने दक्षिण दक्षिण सहकार्य बैठकमा उनको सहभागिता रहनेछ। त्यसको साइडलाइनमा राष्ट्रपति सीसँग उनले संक्षिप्त तर विशेष भेटवार्ता गर्नेछन्। असोज ११ वा १३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने तालिकाको प्रयास भइरहेको राष्ट्रसंघस्थित नेपाली नियोग स्रोतले बतायो। अमेरिकी राष्ट्रपति बाराक ओबामाले आयोजना गर्ने संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाको मिसनमा योगदान दिने मुलुकको सम्मेलन असोज १२ मा रहेको छ। सोही दिन बेलुका उनले ओबामालाई भेट्ने कार्यक्रम छ। त्यसलगत्तै ओबामाले दिने डिनरमा पनि भेट हुनेछ। नेपाल यूएन शान्ति स्थापना मिसनमा सबैभन्दा बढी सेना पठाउने विश्वको पाँचौं राष्ट्र हो भने चीनको सहकार्यमा पनि महत्त्वपूर्ण मुलुक हो। उनले असोज १४ मा राष्ट्रसंघमा सम्बोधन गर्ने र १५ मा स्वास्थ्य परीक्षण गर्ने तय भएको छ। उनी असोज १६ मा त्यहाँबाट फर्कने र १७ मा काठमाडौं आइपुग्ने कार्यक्रम छ। प्रधानमन्त्री कोइराला गत वर्ष पनि महासभामा सहभागी हुन र स्वास्थ्य उपचार गर्न भन्दै न्युयोर्क गएका थिए। प्रधानमन्त्रीसँगै रहेका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पनि साइडलाइन भेटवार्ता गर्नेछन्। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको विदेशमन्त्री स्तरीय बैठकमा पनि पाण्डे सहभागी हुने कार्यक्रम छ। कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्