नेभिगेशन
अन्य

प्रधानमन्त्री बुधवार संयुक्त राष्ट्रसंघ जादै

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन १८ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यही आउँदो बुधबार न्युयोर्क प्रस्थान गर्ने भएका छन् । असोज ११ देखि १८ गतेसम्म हुने संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभालाई सदस्य राष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखको हैसियतमा प्रधानमन्त्री कोइरालाले महासभालाई यही असोज १४ गते सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री कोइरालाबाट संयुक्त राष्ट्रको महासभालाई सम्बोधन हुन लागेको यो दोस्रोपटक हो । यस अघि उनले राष्टसंघको ६९औँ महासभालाई सम्बोधन गरेका थिए । संयुक्त राष्ट्रसङ्घमा विश्वका १९२ मुलुक सदस्य छन् भने दुई मुलुक होलिसी भ्याटिकन सिटी र प्यालेस्टाइन स्टेटले पर्यवेक्षकको मान्यता पाएका छन् । नेपाल संयुक्त राष्ट्रसङ्घमा सन् १९५५ को डिसेम्बर १४ मा सदस्य बनेको हो । यस वर्ष राष्ट्रसङ्घ स्थापनाको ७० वर्ष पुगेको छ भने नेपालले राष्ट्रसङ्घमा प्रवेश पाएको ६० औँ वर्ष गाठ मनाउँदै छ । प्रधानमन्त्री कोइरालाले महासभामा सम्बोधन गर्नुअघि असोज ८ देखि १० गतेसम्ममा आयोजना हुने सन् २०१५ पछिको विकास लक्ष्य घोषणा गरी पारित गर्ने राष्ट्रसङ्घीय शिखर सम्मेलनमा भाग लिनु हुनेछ । महासभाकै क्रममा अमेरिकी राष्ट्रपति वाराक ओवामा र संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले विश्वमा द्वन्द्वरत मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउने मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सम्मिलित उच्चस्तरीय शान्ति सम्मेलनमा पनि प्रधानमन्त्री कोइराला सहभागी हुनेछन् । नेपाल शान्ति सैनिक खटाउने मुलुकको कोटीमा छैटाँै स्थानमा पर्दछ । नेपालले हालसम्म शान्ति स्थापनार्थ एक लाखभन्दा बढी सैनिक खटाई संयुक्त राष्ट्र सङ्घको शान्ति कार्यमा योगदान पु¥याइसकेको छ । चीनका राष्ट्रपति सि जिनपिङ्ग र युएन वुमनले आयोजना गर्ने ‘लैङ्गिक समानता तथा महिला सशक्तिकरणः कार्यान्वयनमा प्रतिबद्धता’सम्बन्धी विश्वका नेतासँगको बैठकमा पनि प्रधानमन्त्री कोइरालाले भाग लिनु हुनेछ । त्यस्तै चीनका राष्ट्रपति सि जिनपिङ्ग र राष्ट संघीय महासचिव मुनले आयोजना गर्ने‘सन् २०१५ पछिको विकास रुपरेखासम्बन्धी दक्षिण–दक्षिण सहयोग उच्चस्तरीय गोलमेच’ कार्यक्रममा पनि प्रधानमन्त्री कोइरालाको सहभागिता रहनेछ । नेपालले जनवायु परिवर्तन, आतङ्कवाद र अल्पविकसित तथा भूपरिवेष्ठित मुलुकका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको छ । महासभाका क्रममा न्युयोर्कमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीको बैठक आयोजना हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले १८औँ शिखर सम्मेलनपछि सार्कको अध्यक्षता गरिरहेको छ । यसैबीच संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७०आँै वर्षगाँठ र नेपाल राष्ट्र सङ्घको सदस्य भएको ६० वर्ष पुगेका बेला हुने यसपटकको महासभामा नेपालको सहभागिता महत्वपूर्ण रहने परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिए । उनले भने,नयाँ संविधानको घोषणा, शासन व्यवस्थाको स्वरुप, राजनीतिक प्रणाली, जनताले आन्दोलनमार्फत हासिल गरेका उपलब्धि, शान्ति प्रक्रियालाई अन्त्य गरेर समृद्धिको बाटोका लागि कोरिएको मार्गचिचत्रबारे सभामार्फत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइने छ । गत वैशाख महिनामा भएको भूकम्पबाट भएको जनधनको क्षति, पाँच वर्ष्भित्र पूरा गर्ने पुनःनिर्माण र नवनिर्माणसम्बन्धी कार्ययोजना विश्व समुदायलाई जानकारी गराउने र त्यससम्बन्धमा सबैको सुझाव, सहयोग, सदिच्छा र शुभकामना बोकेर आउने परराष्ट्र मन्त्री पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्