नेभिगेशन
अन्य

संविधान जारी भएको खुशीयालीमा टुँडिखेलमा बिजय सभा

काठमाडौं । नेपालको संविधान, २०७२ प्रारम्भ भएको खुसियालीमा नेपाल सरकारको आयोजना र प्रमुख तीन दलको संयोजनमा सैनिक मञ्च टुँडिखेलमा अहिले विजयोत्सव सभा गरिएको छ । सभामा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा शीर्ष नेताहरुले आन्दोरतपक्षलाई वार्तामा आउनका लागि पुन आह्वान गरेका छन् । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले सहमति, सम्बाद र मेलमिलापको मुल मन्त्रलाई व्यवहारमा कार्यान्वय गरेर नै देशलाई अग्रगामी दिशामा लान सकिने बताए । उनले संविधान घोषणा भएपछि २००७ सालदेखिको नेपालीको आकांक्षा र चाहना पूरा भएको उल्लेख गर्दै संविधान निर्माणमा भूमिका निर्वाह गर्ने सबैलाई धन्यबाद दिएका छन् । प्रधानमन्त्री कोइरालाले संविधानले संघीयता लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गरेको तथा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधता रहेको हाम्रो देशमा एकताको खोजी गर्ने परम्परा यो संविधानले शुरु गरेको स्पष्ट पारे । कोइरालाले संविधान जारी भएपनि मधेसी, थारु, जनताजाति, अल्पसंख्यकलगायत सबैको माग संविधानमा सम्बोधन गर्न सकिने भन्दै सबैले आफ्ना माग शान्तिपूर्ण वार्तामा आएर राख्न आग्रह गरे । कोइरालाले भने–‘समानुपातिक प्रतिनिधित्व, जनसंख्याको आधारमा प्रतिनिधित्व गर्ने व्यवस्थालाई वार्ताबाटै अघि बढाउन सकिन्छ भन्ने आश्वस्त गर्न चाहन्छु ।’ संविधानपछि मुलक अब आर्थिक सामाजिक विकासका दिशामा अघि बढ्नु पर्ने उनको भनाई थियो । यस्तै नेकपा एमालेका अध्यक्ष केपी आलीले मुलुकमा नयाँ संविधान जारी भएको अवसरमा सबै मिलेर खुशियाली मनाउनु पर्ने बताएका छन् । ओलीले कुनै कुरा छुटेका भए त्यसलाई आगामी दिनमा संविधान संशोधन गरेर अगाडि बढ्न सकिने बताए । ओलीले भने–‘कसैले पनि असन्तुष्ट हुनुपर्ने आवश्यकता नभएको उनले दाबी गरे। ’खुशियाली बनाउने बेलामा कुनै कुनै क्षेत्र वा तप्काका मानिसले दुःखी हुनुपर्ने कुनै कारण छैन,’ । अध्यक्ष ओलीले जनताले बनाएको संविधान अन्तर्गत चल्ने नेपाली सार्वभौम सत्ता सम्पन्न भएको बताए । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले केही दलहरुले केही नेताहरुले यस संविधानको स्वामित्व ग्रहण गर्न हिच्किचाएको भन्दै सवै माग वार्ता र संवादबाट समाधान गर्ने बताए । उनले अन्य भेगका जनतालाई भन्दा मधेसका मधेसीका मुद्दा बढी सम्बोधन भएको भन्दै नागरिकता, समानुपातिक प्रतिनिधित्व जस्तो मुद्दा सम्बोधन भएको स्पष्ट पारे । उनले सीमांकनका विषयमा रहेका असहमति पनि वार्ताबाट समाधान गर्न सकिने भन्दै अविलम्ब वार्ताको टेबुलमा आउनै आग्रह गरे । संविधानको स्वागतमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । विभिन्न समुदायले आफ्नै परम्परागत वेशभूषामा सभास्थलमा खुसी व्यक्त गरिरहेका छन् । सभाको सुरुमा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो भने विभिन्न आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका सहिदको सम्मानमा दुई मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा संविधान जारी भएको ऐतिहासिक दिनसम्म आइपुग्दा विभिन्न कालखण्डमा प्रजातान्त्रिक आन्दोलनका लागि योगदान गर्नुहुने बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र मदन भण्डारीको स्मरण गरिएको थियो । विभिन्न सङ्घसंस्था, उद्योगी, व्यवसायी, नागरिक समाजका अगुवा तथा विभिन्न पेसागत सङ्घ तथा संस्थाहरु स्वतःस्फूर्त ¥यालीसहित सभामा सहभागी हुनआएका थिए । विशेष स्वागत समारोहमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रमुख दलका अन्य नेताको पनि सहभागिता रहेको छ । तर संविधान निर्माण भएपनि खुशियाली मनाउने बेला नभएको टिप्प्णी गर्दै आएको एमाओवादी नेता डा बाबुराम भट्टराई भने कार्यक्रममा सहभागि भएनन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्